नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । पोखरा महानगरपालिका ११ गण्डकी अस्पताल नजिकै रहेको होटल अजम्बरीका संचालन विनय गुरुङ र कर्ण बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
अर्का एक जना भने फरार रहेको प्रहरी स्रोतले बताएका छन् । उनीहरुलाई सिभिल प्रहरीले पक्राउ गरेको हो । स्रोतका अनुसार होटलमा लगि एक नाबालिगलाई करणी गरेको आरोप छ । त्यतिमात्रै होइन उक्त होटलमा नाबालिगहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको समेत स्रोतको दाबी छ ।
उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले दुई जना पक्राउ परेको जानकारी दिए । ‘यो सम्वेदनशील घटना हो । नाबालिग करणीको आरोपमा पक्राउ गरि अनुन्धान गरिरहेका छौं’ उनले भने ।
एक स्थानीय स्रोतका अनुसार विनय गुरुङ युवा संघमा आबद्ध रहेका छन् । उनका अनुसार घटनालाई कम्जोर बनाउने प्रयास समेत भइरहेको छ । ‘यहाँ घटनालाई कम्जोर बनाउन दुई राजनैतिक दलका नेतानै लागेका छन् । पिडितलाई न्याय दिनका साटो उल्टै दबाबमा राख्ने किसिमका खेलहरु खेलिरहेका छन्’ स्रोतले भने ।