Friday, March 28News That Matters

उत्तरी चीनको राजमार्ग पुल दुर्घटना: ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

यो समाचार शेयर गर्नुहोस्

बेइजिङ, साउन ५ – उत्तरी चीनमा एक राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन्। सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार यो जानकारी दिएको हो।

फोटो श्रोत गोरखापत्र

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति करिब ८:४० बजे भएको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको जनाएको छ।

राजमार्गको पुल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता भएको सिसिटिभीले जनाएको छ। “हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको छ,” प्रसारणकर्ताले जानकारी दिएको छ।

राज्य सञ्चालित टेलिभिजनमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ। उत्तरी र मध्य चीनमा मङ्गलबारदेखि निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ।

रासस/एएफपी

यो भिडियो पनि हेर्नुहोला:-

प्रतिकृया दिनुहोस