Friday, January 16News That Matters

आईन आमा कि चर्चित गायिका बिष्णु माझिको (संसद) भवनको को बैठकमैं चर्चा

यो समाचार शेयर गर्नुहोस्

पोखरा, बुधबार, भदौ १९, २०८१ , विष्णु माझी नेपालकी एक रहस्यमयी ठानिएकी एक कुशल लोकगायिका हुन्। उनी २०३५ सालमा स्याङ्जा जिल्लाको चापाकोटमा जन्मिएकी भनिएपनि जन्म मिति विष्णु माझीको व्यक्तिगत जीवन धेरै गोप्य रहेको छ,जसकारण उनको सही जन्म मिति वा उमेरबारे ठ्याक्कै पुष्टि गर्न कठिन छ अपुष्टनै छ ।

यही कारणले गर्दा उनको जन्म मिति र उमेरबारे भिन्न-भिन्न अनुमानहरू पाइन्छन्।

विष्णु माझीले आफ्नो जीवनलाई सार्वजनिक नजरबाट टाढा राख्ने निर्णय गरेकी छिन्। उनी आफ्नो परिवारसँगै गोप्य. जीवन बिताइरहेकी छन् र पारिवारिक जीवनबारे धेरै जानकारी उपलब्ध छैन। उनका श्रीमान् सुन्दरमणि अधिकारी नै उनका व्यवस्थापक हुन् र उनीहरूले आपसी सहमतिमा विष्णु माझीलाई सार्वजनिक रूपमा नदेखाउने निर्णय गरेको चर्चा छ।

माझीले आफ्नो पारिवारिक जीवनलाई गोप्य राख्न रुचाउँछिन्, तर यो गोपनीयता र उनका गीतहरूको लोकप्रियताबीचको विरोधाभासले जनमानसमा अझै चासो बढाएको छ। उनका प्रशंसकहरू उनलाई सार्वजनिक रूपमा देख्न र चिन्ने इच्छामा छन्, तर उनले अहिलेसम्म आफ्नो व्यक्तिगत निर्णयलाई प्राथमिकता दिएकी छिन्।

नेपालकी लोकप्रिय लोकगायिका विष्णु माझीलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने माग हालै संसद्मा उठेको छ। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेका छन्।

सांसद भण्डारीले संसदमा आफ्नो सम्बोधनमा भने, “मैले देख्छु विष्णु माझीलाई, उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरूको हरेक मनले भनेको छ। कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस्।” उनले यो माग राख्दा गायिका माझीको अधिकार हनन् गर्ने उद्देश्य नरहेको स्पष्ट पारे।

उनले हालैको तीज पर्वमा विष्णु माझीले प्रस्तुत गरेको चर्चित गीत ‘आइन आमा यो तीजैमा’को पनि प्रशंसा गरे। यो गीतले नेपाली समाज र संस्कृतिलाई झल्काएको भन्दै भण्डारीले गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको जानकारी पनि दिए। विष्णु माझीको यो गीतले पुनः उनको लोकप्रियतालाई उचाइमा पुर्‍याएको छ।

विष्णु माझीको जिबन नेपाली लोकसंगीतको एक महत्वपूर्ण हिस्सा बनेको छ। उनका गीतहरूले नेपाली समाज, संस्कृति, र परम्परालाई झल्काउँछन्। उनका चर्चित गीतहरूमा धोकेबाज” वा “पिंजडाको सुगा” “चरी जेलैमा,” “आइन आमा यो तीजैमा” लगायतका गीतहरू पर्दछन्।

उनका गीतहरू नेपाली समाजमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय छन्। उनले गाएका गीतहरूले नेपाली लोकसंगीतको संरक्षणमा ठूलो योगदान पुर्‍याएका छन्। विष्णु माझीको स्वरमा एक प्रकारको मिठास र गहिराई छ, जसले उनका गीतहरूलाई अद्वितीय बनाउँछ।

लामो समयदेखि गायिका विष्णु माझी सार्वजनिक जीवनमा देखिएकी छैनन्। उनले आफ्नो जीवनलाई गोप्य राखेर मात्रै गीतहरू रेकर्ड गर्दै आएकी छन्। उनी सार्वजनिक कार्यक्रममा देखा पर्दिनन्, कुनै अन्तरवार्ता दिन्नन्, र सञ्चारमाध्यमसँग सम्पर्कमा रहन्नन्। यद्यपि, उनको गायन यात्राले उनलाई अझै चर्चामा राखेको छ र उनका प्रशंसकहरू उनको जीवन र व्यक्तित्वबारे चासो राख्न बाध्य छन्। विष्णु माझीको यो निर्णयलाई सम्मान गर्नुपर्छ, तर उनको प्रतिभालाई सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि जनताको चाहनाको रूपमा देखिएको छ। संसद्मा उठेको यो आवाजले यो विषयमा थप चर्चा र बहसको सुरुवात गरेको छ।

विष्णु माझीको गोप्य जीवनबारे स्पष्ट र आधिकारिक कारणहरू सार्वजनिक भएका छैनन्। तर, विभिन्न अड्कलहरु र चर्चाहरूका आधारमा केही सम्भावित कारणहरू प्रस्तुत गर्न सकिन्छ।

विष्णु माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारीले आफ्नो जीवनलाई सार्वजनिक नजरबाट टाढा राख्ने व्यक्तिगत निर्णय गरेका हुन सक्छन्। कतिपयले यो निर्णयलाई विष्णु माझीको आफ्नो निजता र शान्तिको सम्मान गर्ने चाहनासँग जोडेर हेर्छन्। यस किसिमको गोपनीयता कतिपय कलाकारहरूले पनि रोज्ने गरेका छन्, विशेषतः जो आफूलाई चर्चामा नराखेर मात्र आफ्नो कलामा केन्द्रित रहन चाहन्छन्।

विष्णु माझीको गोपनीयता कतिपयले सुरक्षा कारणसँग पनि जोडेर हेरेका छन्। नेपालमा केही चर्चित व्यक्तिहरूको व्यक्तिगत जीवनमा हस्तक्षेप हुने सम्भावना रहन्छ, र यसबाट बच्नका लागि उनले सार्वजनिक जीवनबाट टाढा रहन निर्णय गरेको हुन सक्छ।

विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारी नै उनका व्यवस्थापक हुन्। कतिपयले उनीमाथि श्रीमान्‌को अत्यधिक नियन्त्रण रहेको अनुमान गरेका छन्, जसले उनलाई सार्वजनिक जीवनबाट टाढा रहन बाध्य बनाएको हुन सक्छ। यद्यपि, यो विषयमा कुनै प्रमाणित तथ्य बाहिर आएको छैन, र यसबारेमा धेरै अड्कलबाजीहरू मात्र छन्।

केही कलाकारहरूलाई सार्वजनिक जीवनको हल्ला, मानसिक तनाव, र सामाजिक दबाबले असर गर्न सक्ने सम्भावना हुन्छ। विष्णु माझीले आफ्नो मानसिक स्वास्थ्य र कलात्मक एकाग्रतालाई प्राथमिकता दिँदै सार्वजनिक जीवनबाट टाढा रहने निर्णय गरेकी हुन सक्छिन्।

विष्णु माझीको गोप्य जीवनबारे यस्ता धेरै तर्क र अड्कलबाजी भए पनि उनले यसबारेमा खुलासा गरेकी छैनन्। यो विषयले धेरैको चासो तान्दै आएको छ, तर उनको निर्णयलाई सम्मान गर्ने धारणा पनि रहेको छ। उनका प्रशंसकहरूले उनको निर्णयलाई सम्मान गर्दै, उनको संगीतमा मात्र केन्द्रित हुने प्रयास गरेका छन्।

सस्तोमा सस्तो भनेजस्तो | Zero KM Chowk, Pokhara , 400,600,900,1000 Rs ONLY
प्रतिकृया दिनुहोस