“पोखरा-१५ मा सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता: नवप्रवेशी खेलाडीहरूको लागि अवसर”
by डाँडाघरे खबर
यो समाचार शेयर गर्नुहोस्
पोखरा
पोखरा महानगरपालिका-१५, नयाँगाउँमा आयोजना गर्न लागिएको विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्योर फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
पोखरा-१५ को वडा कार्यालय नजिकको खेल मैदानमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित असोज १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी उच्च स्तरमा भइरहेको जानकारी आयोजक विकास गुरुङले शनिबार आयोजित पत्रकार सम्मेलनमा दिएका छन्।
गुरुङका अनुसार, नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा विजेताले नगद रु ६० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र जित्नेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, र सर्वाधिक गोलकर्ता प्रत्येकलाई नगद रु ३,००० का पुरस्कार प्रदान गरिनेछ। अनुशासनमा उत्कृष्ट रहेको एक टिमलाई नगद रु ५ हजारको पुरस्कार प्रदान गरिने योजना पनि छ।
गुरुङले ‘ए’, ‘बि’, र ‘सि’ डिभिजन तथा गोल्डकप खेलिसकेका खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन अनुमति नहुने बताएका छन्। प्रतियोगिताको मुख्य उद्देश्य नवप्रवेशी खेलाडीहरूलाई अवसर प्रदान गर्नु रहेको उनले स्पष्ट पारे। “स्थानीय स्तरमा धेरै प्रतिभाशाली खेलाडीहरू छन्, तर तिनीहरूले अवसर पाएका छैनन्। त्यसैले यस्ता खेलाडीहरूलाई प्रोत्साहित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने।
उद्घाटनको अवसरमा पोखरा-१५ का आमा समूहहरूद्वारा झाँकीसहितको र्याली पनि गरिने जानकारी गुरुङले थपे। “प्रतियोगितालाई आकर्षक बनाउन र्यालीसमेत आयोजना गरिएको छ, जहाँ प्रथम हुने समूहले नगद रु ७ हजार र दोस्रो हुने समूहले रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसले स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा पनि टेवा पुर्याउनेछ,” उनले बताए।
प्रतियोगिता सफल बनाउन नयाँगाउँ युवा क्लब र संगम टोल विकास संस्थाले पनि सहयोग गरिरहेका छन्। संस्थाका अध्यक्ष अदिप बरालले यस प्रतियोगिताले स्थानीय युवाहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे एस्ता कार्यक्रमले नयाँ खेलडिहरुको लागी अबसर हुने र अबसर लाई सदुपयोग गर्नुपर्ने धारणा राखे ।
फ्याङ्कलिन एजुकेशन एकेडेमीका प्रबन्ध निर्देशक कमल खड्काले उपविजेताको पुरस्कार सौजन्य गर्दै, यस्ता प्रतियोगिताले फुटबलको विकासमा ठुलो योगदान पुर्याउने बताएका छन्। उनले भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा टिम दर्ताको लागि भने पाँच हजार लाग्ने आयोजले जानकारी दिएको छ ।