पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्।
पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि हासिल गरेका हुन्।
फोटो:डाडाघरेखबरडटकम
पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले ४१ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे भने पोखरा–१७ का प्रकाश थिँकले ४२ मिनेट ४२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे।
विजेतालाई नगद रु २५,०००, उपविजेतालाई रु १५,००० र तेस्रो हुनेलाई रु ७,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
विश्व शान्ति स्तूपबाट सुरु भएको पर्वतीय दौड पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर सम्पन्न भएको थियो।
महिलातर्फ, काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन्। उनले ५५ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन्।
यू-१६ प्रतिस्पर्धामा पोखरा–२२ का सागर देवकोटा पहिलो स्थानमा रहे। पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गर्दै प्रथम स्थान प्राप्त गरे। विजेतालाई नगद रु ७,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
फोटो:डाडाघरेखबरडटकम
प्रतियोगिता सफल बनाउन पुम्दीभुम्दीवासीहरूले टोलटोलमा फूलमाला, गुच्छा र पानीले धावकहरूको स्वागत गरेका थिए।
त्यस अवसरमा, पर्यटन, उद्यम, र समाजसेवामा विशेष योगदान पुर्याउने समाजसेवी चन्द्रकान्त बराल र मलेसियामा आयोजित माउन्ट किनाबालु हाफ म्याराथनमा लगातार तीन पटक विजेता भएका अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको थियो।
पूर्व अर्थमन्त्री बरालले पोखरा २२ मा पर्यटन र खेलकुदको विशाल सम्भावना रहेको बताउँदै, यस्ता गतिविधिले खेल पर्यटनको प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे। पोखरा २२ का अध्यक्ष बरालले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप परिस्कृत पार्ने वाचा गरे।
दौडको माध्यमबाट पुम्दीभुम्दीको थप प्रवर्द्धन गर्न र खेलकुदद्वारा पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको संयोजक दीननाथ बरालले बताए। उनले यस प्रतियोगितालाई गाउँको खेल पर्यटन प्रबर्द्धनमा कोशेढुंगा सावित हुने बताए।
प्रतियोगिता सफल बनाउन विभिन्न संघ-संस्थाहरूले दिएको सहयोगका लागि प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद ज्ञापन गरे।
अनलाइन फाराम भरेका ३ देशका १०४ जना धावकमध्ये ७९ जनाले शनिबारको पर्वतीय दौडमा सहभागिता जनाएका थिए। प्रालिका व्यवस्थापक सागर सुनारका अनुसार, दौडमा नर्वेका दुई महिलासहित ७९ जना धावक, र ९ वर्षदेखि ५५ वर्षसम्मका उमेर समूहका सहभागीहरू थिए। पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमका अनुसार, ५५ वर्षका ज्येष्ठ धावक शिवराज बस्ताकोटीलाई विशेष मेडल प्रदान गरिएको थियो।भने कम उमेरका बालक लाई पनि सम्मान गरिएको छ ।
कार्यक्रम सञ्चालन संचारकर्मी दीपेन्द्र पहारीले गरेका थिए। यस प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका थिए भने पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद् लगायतको सहयोग रहेको थियो।