मानवीय स्वभावैले हरेक मानिसका आ-आफ्ना छुट्टाछुट्टै इच्छा र फरक-फरक चाहना हुन्छन्। आजभन्दा ठीक १६ वर्ष अगाडि सराङकोट साप्ताहिक पत्रिकामा लागेर लेखन यात्रामा लागेको पनि ठ्याक्कै १६ वर्ष भएछ। दिन कति छिटो बित्दारहेछन्, हिजो जस्तै लाग्छ।
कसलाई के थाहा, समय कति छिटो अगाडि बढ्छ। कुनै पनि साता कहिल्यै नरोकिएको यो लेखन यात्रामा कहिले राजनीतिक, कहिले सामाजिक, कहिले धार्मिक, कहिले चेतनामूलक, कहिले सन्देशमूलक, त कहिले सूचनामूलक लेखहरु, कहिले भ्रष्टाचारका विरुद्ध, त कहिले विकृति विसंगतिका विरुद्ध सामाजिक चेतना फैलाउने लेखहरु लेख्दै, समाजलाई रुपान्तरणतर्फ उन्मुख गराउने तथा सकारात्मक परिवर्तनका लागि निरन्तर चलेको लेखन यात्रा कहिल्यै रोकिएन। यसमा पक्कै पनि पाठकवर्गको साथ, सहयोग, योगदान, हौसलाप्रदान तथा तारिफयोग्य वाणीको महत्वपूर्ण भूमिका रहेको छ। किनकि बाटोघाटोमा जहाँ भेट्यो, पाठक वर्गले “शिवदाइले अघिल्लो साता निकै राम्रो लेख लेख्नुभएको रहेछ, मनै छोयो, खुब मनपर्यो” भनेर तारिफ गर्दै गुणगान गाएको सुन्दा झनै जानमा जान आउथ्यो। शरीरको रौं-रौंमा ऊर्जा थपिएको महसुस हुन्थ्यो।
लाग्थ्यो, जीवनको कमाइ यहीं हो। तर यसरी लेखन यात्राको अनुभवलाई सम्झँदा र अनुभूत गर्दा, वर्षौं पहिले फाट्टफुट्ट कलम चले पनि सदैव स्मरणमा रहिरहने आदरणीय बालकृष्ण उग्रतारालाई भने कहिल्यै बिर्सन सक्दिन। उहाँले भनेका ती अमृतवाणी, “शिवदाइ, हावा रोकिएला, नदी रोकिएला, तर तपाईको लेखन यात्रा रोकिनु हुँदैन” भन्दै दिनुभएको हौसलालाई सदा स्मरण गरिरहेछु।
हरेक मानिसको जीवनमा कहीँ न कहीँ, कुनै न कुनै विषयमा, कसै न कसैबाट कुनै न कुनै रूपमा अगाडि बढ्ने प्रेरणा मिलेको हुन्छ। हरेक मानिसले फरक-फरक सोच-विचारले अगाडि बढ्ने प्रयास गरेको हुन्छ। हरेक मानिसले फरक-फरक सपना देखेको हुन्छ। स्वभाव र भाग्य पनि फरक-फरक हुन्छ। त्यसैले त यो संसाररूपी समाजमा सबै धनी हुँदैनन्, सबै विद्वान हुँदैनन्, सबै ज्ञानी-ध्यानी हुँदैनन्, सबै मूर्ख हुँदैनन्। कसैको पनि समान चाहना हुँदैन। यहाँ कोही दामको भोको छ, कोही कामको भोको छ, त कोही नामको भोको छ। स्वभावअनुसार मानिसले आफ्नो यात्रा तय गर्छ। त्यसैले आफैंलाई सोध्न मन लाग्छ—कतै यो निरन्तरताको लेखन यात्रा पनि यही भनाइमा मेल खाएको त हैन?
आज १६औं वर्षमा आइपुग्दा, कतिपय लेखहरूले कतिलाई पढ्दा आनन्द आयो होला, कतिलाई ठीक लाग्यो होला, कतिलाई गलत लाग्यो होला। सायद कहिकतै कसैको आत्मरमाउने लेख आए होलान्, त कतिका आत्मामै ठेस पुग्ने लेखहरू पनि आएका होलान्।
त्यसैले आज यो निरन्तर लेखन यात्रा गर्दै यहाँसम्म आइपुग्दा कतिपय कमी-कमजोरी भए होलान्, मेरा सम्पूर्ण प्रिय पाठकवर्गमा निवेदन चढाउँदै क्षमा माग्न चाहन्छु। अझै मलाई खारिने अवसर दिदैँ, मेरो निरन्तर लेखन यात्रामा चलेको कलमलाई यहाँहरुकै सल्लाह-सुझावले पक्कै पनि तिखारिने छ भन्नेमा ढुक्क छु, किनकि तपाईंहरू जसले सदा ‘शिवदाइको लेख’ भनेर पढिरहनुभएको छ, तपाईंहरूले यो उमेरलाई मात्र युवा उमेर बनाइदिनुभएको छैन, युवा मन पनि बनाइदिनुभएको छ।
त्यसैले यहाँहरुकै आशा, भरोसा, र विश्वासमा लेखन यात्रालाई अझ परिस्कृत गर्दै अघि बढाउने प्रयासमा लागि रहनेछु। यति भन्न आट, साहस, प्रेरणा, र यहाँहरूकै हृदयबाट प्राप्त हौसलाले आज पनि आफूलाई ऊर्जाशील ठान्दै लेखन यात्रालाई निरन्तरता दिन प्रयासरत छु।
फेरि, सराङकोट साप्ताहिक पत्रिका परिवार, बेला-बखत कतै ढुलमुलिन थालेको त छैन भन्ने लागेमा, समयमै महत्वपूर्ण सुझाव दिदैँ अभिभावकीय भूमिका निर्वाह गर्नुहुने यहाँहरूप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु। जसरी व्यापारीका लागि ग्राहक भगवान हुन्, गायकका लागि श्रोता भगवान हुन्, ठिक त्यसैगरी कलम चलाउनेका लागि पाठक भगवान हुन्। त्यसैले त १६औं वर्षको यो लेखन यात्रालाई निरन्तरता दिने क्रममा, मलाई पटक-पटक साहसिक यात्रु बनाउने तपाईं सम्पूर्ण भगवानरूपी पाठकवर्गमा पुष्पगुच्छारूपी शब्दहरू टक्र्याउन चाहन्छु।
सायद यहाँहरूबाटै बेला-बेला सुझाव र सकारात्मक टीका-टिप्पणी नभएको भए, सराङकोट साप्ताहिक पत्रिका सराङकोटकै जस्तो उचाइमा पुग्न सम्भव पनि थिएन। त्यो उचाइमा पुर्याउनुमा गर्वका साथ भन्छु—यहाँहरुकै हात र साथ छ। हामी त केवल लेखन यात्रालाई निरन्तरता दिदै जाने पात्र हौं।
