पोखरा
कास्कीकोट/ गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लाको ऐतिहासिक कास्कीकोट दरबारस्थित गुप्तकालिका मन्दिरमा शान्तिको कामनासहित नवदुर्गा महोत्सव सम्पन्न हुँदैछ।
कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुने भएको छ।

परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको यो मन्दिरमा यस वर्ष देशभरि आएको बाढी, पहिरो, र प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै शान्तिको कामनासहित घटस्थापनादेखि दशमीसम्म पुजारीहरूले मन्दिरमै बसेर गुप्तकालिकाको पूजा गर्नेछन्। धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीका अनुसार, यस वर्ष पूजा विशेष महत्त्वपूर्ण रहनेछ।
असोज १७ गते घटस्थापनादेखि विधिवत रूपमा कोतमा प्रवेश गरी नवदुर्गाका लागि विशेष चण्डी पाठ र दुर्गा कवच पाठ हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए। उनका अनुसार, कास्कीकोटको गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि नै विशेष पर्व र अवसरमा परम्परागत पूजा गरिँदै आएको छ। यस वर्षको बडा दशैंको १० दिनसम्म कोत घरमा पाणा पुजारीसहित राष्ट्रिय शान्तिको कामनासहित तान्त्रिक तथा वैदिक पूजा गरिनेछ।
बडादशैंको फूलपातीमा पोखराको रामघाटबाट फूलको डोली विधिवत् रूपमा मन्दिरमा प्रवेश गराइनेछ र तान्त्रिक पूजा गरिने प्रचलन रहेको छ। फूलपातीकै दिन कास्कीकोटमुनि रहेको धुपिचौरमा पुजारीद्वारा रागमालश्री धुन वाचन गरिनुका साथै लोपोन्मुख कुँवर जातिको सैन्य अभ्यास “सरुन खेल” प्रदर्शन गरिनेछ। यो खेल हेर्न पोखरा र अन्य स्थानबाट दर्शनार्थी आउने गरेका छन्।

अष्टमीको रात मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली प्रदान गरिने परम्परा रहेको छ। दशमीका दिन मन्दिरमा टीका ग्रहण गरिनेछ र वास्पानी कालीकामा फूलपातीसहित पूजा विसर्जन गरिनेछ। नेपालभर लोपोन्मुख हुँदै गएको सरुन खेल र मालश्री धुनलाई परापूर्वकालदेखि नै प्रस्तुत गर्दै आइएको छ।
गुप्तकालिका मन्दिरका अमालि खिमबहादुर कार्कीका अनुसार, कास्कीकोटमा दशैंका बेला बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल-तरबार, तथा तोपहरूको प्रदर्शन गर्दै आइएको छ। मन्दिरमा पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गरेको उहाँले बताउनुभयो।
गुप्तकालिका मन्दिर कास्की राज्यको स्थापना भएदेखि नै विशेष धार्मिक स्थलका रूपमा मानिँदै आएको छ। बाइसे-चौबिसे राजाहरूका पालामा शाहवंशी कुलमण्डन शाहले शासन गरेका यस ठाउँमा कश्यप ऋषिले तपस्या गरेका थिए, जसका कारण कास्की जिल्लाको नामाकरण भएको किंवदन्ती रहेको पाइन्छ।
