विगतका वर्षहरूमा जस्तै यस वर्ष त्यति व्यापार हुन नसकेको पोखराका व्यवसायीहरूले बताएका छन्। एक त देशमा भइरहेको आर्थिक मन्दी, त्यसमा पनि महानगरपालिकाको ज्यादति — न समान राम्रोसँग देखिने गरी राख्न पाइन्छ आफ्नो घरको पेटीमा सजाउनु पनि नपाइने नियम , न त सहज तरिकाले व्यापार गर्न पाइन्छ। यस्तो अवस्था सिर्जना भएकाले अपेक्षा अनुसार यस वर्षको दशैंमा व्यापार नहुने पोखराका फेन्सी कपडा पसललगायत विभिन्न व्यवसायमा लागेका व्यवसायीहरू गुनासो पोख्छन्।



एकनारायण अधिकारीको आँखा अझै पनि ग्राहकको प्रतीक्षामा छ। ३६ बर्ष देखि पसल गरेको मन्दीले “५०० मा दुई जोर रोजी-रोजी छानी-छानी राखेका छौं, तर कोही किन्ने आउँदैनन्,” उनी चिन्तित स्वरमा भन्छन्।
पृथ्वीचोकको मुख्य बजारमा घाम झुल्कनेबित्तिकै पसलको शटर खोलेका एकनारायण अधिकारीको आँखा अझै पनि ग्राहकको प्रतीक्षामा छ। ३६ बर्ष देखि पसल गरेको मन्दीले “५०० मा दुई जोर रोजी-रोजी छानी-छानी राखेका छौं, तर कोही किन्ने आउँदैनन्,” उनी चिन्तित स्वरमा भन्छन्। अधिकारीको पसल अगाडि ‘दशैँ विशेष अफर’ लेखिएको ठुलो बोर्ड झुन्डिएको छ, जसले ग्राहकलाई तान्ने उद्देश्य राखेको थियो। तर यस वर्षको दशैँमा बजार सुस्त छ। अधिकारी मुस्कानका साथ बोल्दैछन्, तर अनुहारमा देखिने चिन्ता लुकाउन नसकेको स्पष्ट देखिन्छ। उक्त छेत्रमा व्यापार गरिरहेका व्यापारी मोहम्मद सरिक, जो १८ वर्षदेखि यस क्षेत्रमा व्यापार गर्दै आएका छन्, यसपटकको अनुभवलाई निराशाजनक मान्छन्। “पहिलो पटक यस्तो देख्दैछु,” उनले मलीन अनुहारमा दुःखेसो पोख्दै भने। उनका अनुसार, नगरपालिकाले पेटीमा सामान राख्न नदिँदा व्यापारमा ठूलो असर परेको छ। “सामान डिस्प्ले गर्न नपाउँदा ग्राहकलाई आकर्षित गर्न सकिरहेका छैनौं,” सरिकको आक्रोशित आवाजले नगरपालिकाको निर्णयप्रति असन्तुष्टि झल्काउँछ।

३५ वर्ष पुरानो पसल ‘सबीन फेन्सी स्टोर्स’ की सञ्चालक हिराकुमारी गुरुङ लामाले पनि आफ्नो निराशा प्रकट गरिन्। “पहिले जस्तो व्यापार छैन, ग्राहक तान्न गाह्रो भएको छ,” उनले गम्भीर मुद्रामा भने। उनलाई लागेको छ कि बजारको यस मन्दीले साना व्यापारीहरूको व्यवसायलाई थप संकटमा पारेको छ।
सन्दिप श्रेष्ठजस्ता व्यापारीहरूको गुनासो अझ गहिरो छ। “मानिसहरूसँग पैसा नै छैन, के किन्न आउलान्!” श्रेष्ठले गहिरो सास फेर्दै भने। पछिल्ला वर्षमा देखिएको आर्थिक मन्दीले गर्दा ग्राहकहरूको क्रयशक्ति घटेको छ। बजारमा ग्राहकको उपस्थिति त छ, तर उनीहरूको खर्च गर्ने क्षमता न्यून भएको छ, जसले गर्दा व्यापारीहरू थप दबाबमा परेका छन्।यस्तै, पसलभित्र राखेको तन्ना नगरपालिकाले तानेर लगेको जगेश्वर चौधरीले आरोप लगाए उनको पनि उस्तै गुनासो छ। उनले आफ्ना सामान भित्रै राख्नुपरेकोले व्यापारमा कमी आएको बताउँछन्। “बजारमा भीडभाड भए पनि मानिसहरू पसलमा नआउने भएकोले, व्यापार ठप्प जस्तै भएको छ,” उनले भने।

व्यापारको यो सुस्ततामा एकनारायण अधिकारी मात्र होइन, अन्य व्यापारीहरू पनि उस्तै समस्यामा छन्। बागलुङका पसले जनमत पौडेलले आफ्ना पसलमा विभिन्न छुट र अफरहरू राखेका छन्, ग्राहक तान्नका लागि विविध प्रयास गरिरहेका छन्, तर पनि अपेक्षित बिक्री भइरहेको छैन। “ग्राहकलाई लोभ्याउन छुटका पोस्टरहरू टाँसेका छौं, तर यसपटक व्यापारमा गति नै छैन,” पौडेलले गहिरो सास फेर्दै भने।
दसैँ र तिहारजस्ता चाडपर्व व्यापारिक दृष्टिकोणले सुनौलो अवसर मानिन्छ। यिनै चाडपर्वमा थुप्रै व्यापारीहरू वर्षभरि गरेका घाटा पूर्ति गर्ने योजना बनाउँछन्। थोरै नाफामा धेरै सामान बेचेर आम्दानी बढाउने योजना सबै व्यापारीको प्राथमिकता हुन्छ। तर यस वर्षको अवस्था बिल्कुलै फरक छ। व्यापारीहरूको अनुमान अनुसार दशैँमा व्यापारीक गतिविधि बढी हुने अपेक्षा थियो, तर यो वर्ष बजार सुनसान छ।

दसैँमा किनमेल गर्न पृथ्वीचोकमा आएकी स्याङ्जाकी गंगा पुन भने आफ्ना छोराछोरीको लागि कपडा किन्न आएको बताउँछिन्। चिसो मौसम सुरु भइसकेकाले बालबालिकाका लागि न्यानो कपडा किन्ने उनको प्राथमिकता हो। “आफ्नो भन्दा छोराछोरीलाई खुसी बनाउने चाहना हुन्छ। दसैँमा राम्रो छुट भएको बेला उनीहरूका लागि पहिला किन्छु, अनि पैसा बच्यो भने मात्र आफूलाई किन्ने हो,” गंगा भन्छिन्। यो केवल उनको मात्र होइन, धेरै ग्राहकको मनस्थिति यही हो। उनीहरू आफ्ना बालबालिकाको खुसीलाई प्राथमिकता दिँदै आफूलाई पछि राखिरहेका छन्, जसले गर्दा व्यापारीहरूले सोचेको जति सामान बिक्री गर्न सकिरहेका छैनन्।
पोखराका व्यापारी प्रकाश कोइरालाको गुनासो भने अलि फरक छ। “दोकान धेरै भए, तर व्यापार घट्दै गयो। अब आर्थिक मन्दीलाई दोष दिने कि आफ्नो भाग्यलाई भन्ने दोधारमा छु,” उनी भन्छन्। पछिल्ला वर्षहरूमा पोखरा लगायत अन्य ठूला सहरहरूमा व्यापारीहरूको संख्या बढेको छ। ठूला मल र ब्राण्डेड स्टोरहरू खुल्न थालेपछि साना व्यापारीहरूको ग्राहक घट्दै गएको छ। प्रतिस्पर्धा बढ्दै जाँदा साना व्यापारीहरूलाई आफ्नो व्यापार जोगाउन गाह्रो भइरहेको छ।
कोइराला भन्छन्, “पहिला साना पसलहरूमा पनि भीड हुन्थ्यो, तर अहिले त ठूला शपिङ सेन्टरहरूले सबै ग्राहक तान्न थालेका छन्। हामी जस्तै साना पसललाई ग्राहक भेटिनै छाडेका छन्।”
यस वर्षको व्यापारिक मन्दीको एउटा मुख्य कारण भनेको देशको आर्थिक अवस्था पनि हो। आर्थिक मन्दीले गर्दा धेरै मानिसको आम्दानीमा कमी आएको छ। ग्राहकहरू आफ्नो खर्च कटौती गरिरहेका छन् र अत्यावश्यक सामानहरू मात्र किन्दैछन्। दसैँ र तिहारजस्ता चाडपर्वमा ग्राहकहरू झन्डै हरेक वर्ष आफू र परिवारका लागि नयाँ लुगा र अन्य सामग्री किन्ने गर्थे, तर यो वर्ष धेरै ग्राहकले खर्चमा बचत गरिरहेका छन्। “पहिले दशैँमा धान्नै नसकिने भीड हुन्थ्यो। अहिले भने एकदमै सान्त छ,” अधिकारीले गहिरो सास फेर्दै भने।

दसैँ र तिहारजस्ता चाडपर्वले नेपाली व्यापारलाई नयाँ उचाइ दिने आशा राखिन्छ, तर यस वर्षको अनुभव भने व्यापारीहरूको लागि निराशाजनक रह्यो। बजारमा देखिएको मन्दी, प्रतिस्पर्धा र आर्थिक समस्याहरूले गर्दा ग्राहकहरूको क्रयशक्ति घटेको छ, जसले साना व्यापारहरूलाई थप संकटमा पारेको छ।
तर, यो अवस्था सधैंभरि रहने सम्भावना भने छैन। चाडपर्वको वातावरण र आर्थिक गतिविधिहरूले पुन: गति लिने आशामा व्यापारीहरू अझै पनि आसावादी छन्। व्यापारमा यो मन्दी चाँडै हट्ला र फेरि बजारमा चहलपहल फर्किएला भन्ने विश्वास उनीहरू राखिरहेका छन्।
पृथ्वीचोकमै रहेको सेलको पसलमा केहि चहलपहल देखिए पनि व्यापारीहरूको अनुहारमा खुशी छैन। उनीहरूले सामानलाई आधा मूल्यमा बेचे पनि अपेक्षित व्यापार भइरहेको छैन। पसलका स्टाफ किसन दास भन्छन्, “पेटीमा सामान फिजार्न पाए हुन्थ्यो। मान्छे पसलभित्रै छिर्दैनन्।” उनका अनुसार, ग्राहकलाई पसलसम्म तान्नका लागि खुला स्थानमा सामान देखाउन पाउनु महत्त्वपूर्ण हुन्छ।
व्यापारीहरूले यसपटकको दशैँ र तिहारमा देखिएको व्यापारिक मन्दीलाई गम्भीर रूपमा लिएका छन्। नगरपालिकाको नियमले पेटीमा सामान राख्न नपाउनु, आर्थिक मन्दी, र प्रतिस्पर्धाको प्रभावले गर्दा उनीहरूको व्यवसाय संकटमा परेको छ। धेरै वर्षदेखि सफल व्यवसाय गरेका व्यापारीहरू पनि अहिलेको अवस्थामा निराश छन्। उनीहरूको आक्रोश र निराशाले स्पष्ट देखाउँछ कि बजारमा देखिएको यो स्थिति सुधार्न ठोस कदम आवश्यक छ।





















