पोखरा
जापानको फुकुसी र इबाराकी क्षेत्रमा रेष्टुरेन्ट, ग्रोसरी एवम् बार लगायतका व्यवसाय गर्दै आएको सिर्जना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ।
यही सेप्टेम्बर २० तारिखदेखि सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौं शाखामा नेपाली खानाका परिकारहरू पाइने भएका छन्। साथै, बैठक, सेमिनार तथा पारिवारिक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्न सकिने ठाउँ रहेको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो।
चिवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलो तलामा ग्रोसरी र दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ। जापानीहरू माझ लोकप्रिय रहेको स्टारले नेपालीहरूलाई लक्षित गरेर सेवा विस्तार गरेको हो। मार्टमा सुपथ मूल्यमा सामानहरू पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजर सुनिल चालिसेले जानकारी दिनुभयो।
नेपालमा १० वर्ष पत्रकारिता गरेका उत्तम पण्डित स्टार ग्रुप कम्पनी प्रमुख रहेका छन्। प्रमुख पण्डितका अनुसार कम्पनीले चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ। कम्पनीले उत्कृष्ट व्यवसायिक सेवा दिनुका साथै सामाजिक कार्यहरूमा समेत सहकार्य गर्दै अगाडि बढ्दै गरेको प्रमुख पण्डितले जानकारी दिनुभयो।
हाल कम्पनीका शाखाहरूमा नेपाली, जापानी, र भारतीय नागरिकहरू कर्मचारीका रूपमा कार्यरत छन्।

वार्षिक ३ करोड ५० लाख बढी कारोबार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबारमा वृद्धि हुने विश्वास लिएको छ। २०१८ मा स्थापना भएको सिर्जना कर्पोरेशनले फुकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ।
कम्पनीले एनआरएनए, पत्रकार महासंघ लगायत नेपाली समुदाय आवद्ध संस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै, सो कार्यलाई चिवा क्षेत्रमा पनि निरन्तरता दिइने जनाएको छ।
कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण सहयोग, जापानी भाषा अनुवाद, परामर्श तथा रेमिट्यान्स सेवा समेत सञ्चालन गरिरहेको छ। करिब एक दशक नेपालमा पत्रकारिता गरेर जापान गएका संचालक पण्डितले जापानमा पनि व्यवसाय र पत्रकारितालाई निरन्तरता दिइरहनुभएको छ। चितवन खैरहनी–३ निवासी पण्डित हाल जापानमा व्यवसाय गर्दै आइरहनुभएको छ।

