पोखरा



बिहीबार गण्डकी प्रदेशकै पर्यटकीय राजधानी पोखराको अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा-१७ पातले छाँगो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन्।

लामो समयसम्म विवादित रहेको, पर्यटकीय महत्त्व बोकेको, ठुलै आम्दानी हुने सो क्षेत्रमा महानगरपालिकाले आफ्नो स्वामित्वमा राख्ने गरी प्रवेश टिकट लगायत सम्पूर्ण आम्दानी आफैंले राख्ने उद्देश्यका साथ बिहीबारबाट महानगरका कर्मचारी उपस्थित गराएर काम कारबाही थालेपछि सोही विद्यालय व्यवस्थापन समिति सहितको उपस्थितिमा स्थानीयले ताला लगाएका हुन्।

आजै बिहीबार उनीहरूले पर्यटकहरू प्रवेश गर्ने मूल गेटमा नै तीनवटा साङ्ले ताला लगाएका छन्।
बिहीबार बिहान नगर प्रहरी र स्थानीय बीच केहीबेर झडप पनि भएको छ। विद्यालय र स्थानीयले दशकौंदेखि विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले स्वामित्व हरण गरेर ठेक्कामा लगाउन नपाइने बताउँदै आएका छन्।
विगतमा पटकपटक दुवै पक्षबाट वार्ता, छलफल, सम्झौता भएको भए पनि महानगरले भएको सम्झौतालाई कार्यान्वयन गर्न नसकेको अवस्था देखिएको र सयौं शिक्षकलाई तलब भरण गर्दै विद्यालयलाई उच्चस्तरीय व्यवस्थापनसहित सञ्चालन गर्दै आइरहेकोमा महानगरपालिकाले यसरी किन हस्तक्षेप गरेको छ बुझ्न सकिँदैन भन्ने प्राध्यापक डिल्लीराम भुषालले प्रश्न गरे।

समाधान के हो भन्ने हाम्रो जिज्ञासामा महानगरपालिका मात्रै होइन, सिङ्गो प्रदेश स्तरमै आफ्नो गरिमा बचाउँदै उच्चस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय कतै कमजोर बनाउने, स्तर खस्काउने षड्यन्त्रको शिकार बनाउन खोजिएको त होइन भन्ने शङ्का उब्जिएको छ। त्यसैले यस्तो जटिल अवस्था आउन नदिन महानगरपालिका, विद्यालय परिवार र स्थानीयसँग छलफल गरेर अगाडि बढ्नुपर्ने प्राध्यापक भुषालले बताए।
विद्यालयले वार्षिक करिब ४ करोड रुपैयाँ आम्दानी गर्दै आएकोमा महानगरपालिकाले २ करोडमा ठेक्का दिएकोप्रति आपत्ति जनाउँदै, हामी यसै आन्दोलनमा आएका होइनौं, रहरले आन्दोलन गरेका होइनौं, स्थानीय देवराज आचार्यले भने। विद्यालयले वार्षिक ४ करोड कमाउँदै आएको थियो तर महानगरपालिकाले २ करोडमा ठेक्का दिएको छ, उनले भने।
वार्षिक हुने ४ करोड आम्दानी सिङ्गो नगरवासीकै सम्पत्ति हो र यो विद्यालय पनि आम सर्वसाधारण जनताका छोराछोरीको भविष्यसँग जोडिएको शिक्षण प्रदान र आर्जन गर्ने सबैको साझा विद्यालय भएको कारण हामी चुप बस्न सक्दैनौं, आचार्यले भने। भइरहेको ४ करोडको आम्दानीलाई २ करोडमा घटाएर ठेक्कामा दिन महानगरपालिका किन हात धोएर लागि परेको छ भन्ने हाम्रो प्रश्न हो, आचार्यले भने।

यतिबेला पोखरामा पर्यटकहरूको अत्यन्तै भीडभाड हुने बेलामा, पर्यटकीय राजधानीमा रहेको अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय स्थल अवलोकनका लागि टाढा टाढा देश तथा विदेशबाट आउने पर्यटकहरूमा यस्तो साङ्ले तालाबन्दीको अवस्थाले कस्तो प्रभाव पार्ला भन्ने कुराको हेक्का राखी महानगरपालिका, विद्यालय परिवार तथा स्थानीय गम्भीर हुनु आवश्यक छ। जिम्मेवार निकायहरू बीच सिर्जित यस्तो विवादले पर्यटकमा नकारात्मक प्रभाव पर्न गई सिङ्गो पोखरालाई समेत दीर्घकालीन असर नपार्ला भन्न सकिँदैन।





















