पोखरा
पोखरामा आज भएको तेस्रो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन एक सय २० जना चिनियाँ खेलाडीहरूको समूह शुक्रबार पोखरा आइपुगेको छ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ चार्टर जहाजमा यात्रा गर्दै चिनियाँ खेलाडीहरूको टोली पोखरा आएको हो।

चीनको कुनमिङ विमानस्थलबाट सिचुवान एयरलाइन्सको उक्त जहाजले दिउँसो दुई बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने तीन बजेर ४० मिनेटमा रित्तै काठमाण्डू फर्किएको थियो। पोखरा आएका खेलाडीहरू, खेल प्राविधिक, तथा खेल अधिकारीहरू प्रतियोगिता सम्पन्न भएपछि काठमाडौं हुँदै आफ्ना गन्तव्यमा फर्किनेछन्।

पोखराबाट काठमाडौंसम्मको यातायात व्यवस्थापन अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले गरेका छन्। पोखरामा बसाइका क्रममा चिनियाँ खेलाडीहरूले आइतबार पोखरा भ्रमण गर्ने कार्यक्रम रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जनाएका छन्।
पोखरा विमानस्थलमा गत असार ६ गते सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएयता कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन्। २०७९ साल पुष १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेयता सिचुवान एयरलाइन्सको यो दोस्रो चार्टर उडान हो, भने हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आठ वटा चार्टर उडान सम्पन्न भएका छन्। तर, विभिन्न चार्टर उडानहरू भए पनि हालसम्म नियमित व्यावसायिक उडान सञ्चालनमा आएको छैन।
चीनको एक्जिम बैंकको ऋण सहायतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा यो विमानस्थल निर्माण गरेको हो।
