पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना
by डाँडाघरे खबर
यो समाचार शेयर गर्नुहोस्
पोखरा
पोखराको फेवा तालमा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुने भएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा डिसेम्बर २८ देखि ३० सम्म यो प्रतियोगिता सञ्चालन गरिनेछ।
नेपालका ११ टोली, मित्रराष्ट्र चीनका ८ टोली र सिङ्गापुरको १ टोलीसहित कुल २० टोली सहभागी हुने यस प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। पोखराका तालहरूमा वाटर स्पोर्ट्सको सम्भावनालाई व्यावसायिक रूपमा विस्तार गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय वाटर स्पोर्ट्स गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो प्रतियोगिताले **नेपाल-चीन सम्बन्ध**मा नयाँ आयाम थप्ने बताए। उनले पोखराका तालहरूलाई पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण रहेको बताउँदै पोखराको पर्यटन र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे।
चिनियाँ राजदूतावासका डिसिएम वाङ सीले पोखराको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले विशेष भूमिका खेल्ने बताउँदै चिनियाँ समुदाय नेपालसँगको सांस्कृतिक र भौतिक विकासमा सहकार्य गर्न तत्पर रहेको प्रस्ट पारे। उनले नेपाल-चीन सम्बन्धको लामो इतिहास लाई थप बलियो बनाउन पर्यटन र खेलकुद माध्यम महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
यस प्रतियोगिताले पोखरालाई विश्व पर्यटन नक्सामा थप स्थापित गर्दै स्थानीय व्यवसायी होटल , रेस्टुरेन्ट क्षेत्र, र पर्यटन उद्योगलाई आर्थिक रूपमा बलियो बनाउन मद्दत गर्नेछ। पोखरामा पानीमाथिका खेलकुद गतिविधिहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै यो कार्यक्रमले ‘खेलकुद पर्यटनको ‘ सम्भावनालाई थप उजागर गर्नेछ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा अघि बढाउने यो प्रयासले नेपालको पर्यटन विकासमा नयाँ सम्भावनाहरू ल्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु।५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन्।