

पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ ।
चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको छ । करिब ४० वटा कालिज फार्मबाट भागेका छन् ।

पोखरा ४ का जनप्रतिनिधिसमेत रहेका प्रकाश कोइरालाले सो फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा उनले सात सय कालिज र ५० वटा लोकल कुखुरा पालेका थिए ।
‘५५ वटा कालिज र १५ वटा लोकल कुखुरा चितुवाले मारेको छ, उडेर कति भागे भन्ने एकीन छैन तर ४० वटा भागे भन्ने हाम्रो अनुमान छ’, सञ्चालक कोइरालाले भने । सबै हिसाब गर्दा एक लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । उनले गत वैशाखमा सात सय कालिज फार्ममा हालेका थिए ।

सोमबार बिहान करिब ५ बजे फार्मभित्र चितुवा देखिएको थियो । फार्मका कर्मचारीले सञ्चालक कोइरालाई जानकारी गराएपछि कोइरालाले जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।
त्यसपछि जिल्ला वन कार्यालय कास्कीका भेटेनरी डक्टर किशोर आचार्यसहितको टोली कुनो कालिज फार्ममा पुगेको थियो ।
टोलीले डाट गरेर (लठ्याउने औषधि) चितुवा नियन्त्रणमा लिएको थियो । सोक्रममा चितुवाले आक्रमण गर्दा जिल्ला वन कार्यालय लेखनाथ सेवा केन्द्रका कर्मचारी सामान्य घाइतेसमेत भएका छन् ।

डा. आचार्यले भने, ‘चितुवा सानो देखेर डोज थोरै दिएका थियौँ, भित्र पसेर नजिकबाट नियाल्दा निकै ठूलो रहेछ, आक्रोशित चितुवा झ्याम्मै आइलाग्यो ।’
भाले चितुवा ५५ केजीको रहेको उनले बताए । उनका अनुसार विशेषगरि पहाडी इलाकामा यस्ता खालका चितुवा बस्ने गर्दछन् । गत महिना पनि पर्वतबाट यस्तै खालको चितुवा नियन्त्रणमा लिएर निकुञ्जमा छाडिएको उनले बताए ।

कुनोबाट नियन्त्रणमा लिइएको चितुवालाई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ । सोमबार साँझसम्ममा चितुवा सामान्य अवस्थामै आइसकेको डा. आचार्यले बताए । उनले भने, ‘एक, दुई दिन त्यहाँ राखेर, अलि टाढा वासस्थान खाजेर छाड्छौँ ।’ सम्भवतः यो चितुवालाई निकुञ्जमै लगेर छाड्नुपर्ने उनको भनाइ छ ।
यो भिडीयो हेर्नुहोश चितुवा उद्धार एसरी गरियो :-