
पोखरा



नेपालको इतिहास केलाउँदा, राजनैतिक अस्थिरता, षड्यन्त्र, हत्या र सत्ताको लागि भएको खेल नयाँ कुरा होइन। पृथ्वीनारायण शाहको कालखण्डदेखि नै सत्ता जोगाउन वा कब्जा गर्न अनेकौं षड्यन्त्रहरू भएका छन्। राजा वीरेन्द्रको बंश नाशदेखि लिएर हालसम्मको राजनीतिक घटनाक्रम यसैको निरन्तरता हो।
नेपालमा सत्तापलट (कू) पटक–पटक भएका छन्, जसले राजनैतिक संरचनामा आमूल परिवर्तन ल्याएको छ। राणा शासनको उदय र पतन, प्रजातन्त्रको आगमन, पञ्चायती व्यवस्थाको स्थापना र पतन, लोकतन्त्रको पुनःस्थापना, गणतन्त्रको स्थापना—यी सबै सत्ताका लागि भएको निरन्तर संघर्षका उपजहरू हुन्। तर, नेपाली राजनीति आज पनि उही समस्याहरूमा जकडिएको छ।
नेपाल कहिल्यै स्थिर देश रहेन। यहाँ विदेशी हस्तक्षेप सदैव रह्यो, जसका कारण देशको मूल शक्ति कसको हातमा छ भन्ने प्रश्न रहस्यमय छ। नेताहरू जनताको सेवा गर्ने नाममा सत्तामा पुग्छन्, तर त्यहाँ पुगेपछि अवरोधहरूको सामना गर्नुपर्छ। कोही देश विकास गर्ने प्रयास गर्छ भने उसलाई अनेक आरोप लगाएर निष्क्रिय पारिन्छ। उदाहरणका रूपमा, विभिन्न समयमा भएका राजनीतिक हत्या, चरित्र हत्या, षड्यन्त्र, भ्रष्टाचारका काण्डहरू नेपाली इतिहासका तीतो पाटाहरू हुन्।
लोकतन्त्र आएर नेपालले प्रगति गर्छ भन्ने आशा गरिएको थियो। तर, आजको अवस्थाले त्यो सपना चकनाचुर भएको छ। लोकतन्त्र आएपछि नेपाल अमेरिका वा बेलायत जस्तो समृद्ध हुने कल्पना गरिएको थियो, तर यसको ठिक उल्टो भयो। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबर्जस्ती थोपरिएको अनुभव जनताले गर्न थालेका छन्।
देशमा राजतन्त्रबारे बहस पुनः जीवित हुन थालेको छ। हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गर्नेहरूको संख्या बढ्दै गएको देखिन्छ। तर, अहिलेको व्यवस्थासँग असन्तुष्टि राख्नेहरूमध्ये कोही राजसंस्थाको पक्षमा छन् भने कोही पुरै नयाँ विकल्प खोजिरहेका छन्।
भ्रष्टाचार व्यापक भएको छ। राज्यका निकायहरूमा कमिसनको खेल मौलाएको छ। कर्मचारीतन्त्र भ्रष्ट भएको छ। नागरिकहरू निराश छन्। आर्थिक अवस्था दिनानुदिन खस्किँदै गएको छ। यही कारण, राजनीतिक अस्थिरता झनै बल्झिन थालेको देखिन्छ।
अहिले देशमा ठुलो परिवर्तनको संकेत देखिएको छ। राजा ज्ञानेन्द्र पुनः सक्रिय रूपमा देश दौडाहामा छन्। कतिपय नेताहरूले ‘देश संकटमा छ’ भन्दै अभिव्यक्ति दिन थालेका छन्। आम नागरिकहरू आक्रोशित छन्, जसको प्रत्यक्ष असर सडकमै देखिन थालिसकेको छ।
सबैभन्दा गम्भीर समस्या भनेको युवाहरूको आक्रोश हो। नेपालमा अवसरको अभाव, शिक्षामा गुणस्तरहीनता, बेरोजगारी, महँगी र राजनीतिक अस्थिरताका कारण लाखौं युवा विदेश पलायन भइरहेका छन्। उनीहरू देशमा रहन नचाहने स्थिति आउनु भनेको नै व्यवस्थाको असफलताको संकेत हो।
सहकारी ठगी पनि अर्को ठूलो समस्या बनेको छ। सहकारीमा लाखौं नेपाली नागरिकले आफ्नो जीवनभरको पूँजी लगानी गरेका थिए। तर, सहकारी काण्डहरू धमाधम आउन थालेपछि राज्यप्रति जनताको विश्वास घट्दो छ। सहकारीहरूमा सरकारी निकायकै सेटिङ मिलाएर ठगी गरिएको आरोप लागिरहेको छ।
न नेता हरुसँग जनताको प्रश्नको उत्तर छ, न जनताको चासो। त्यसकारण आजकल नेताहरू कहिले जनताको जुत्ताको प्रहार भोग्छन्, कतै चप्पल या कालोमोसो दलेर अपमानित हुन्छन्। अझ नेता दुर्घटनामा परे भने सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको ओइरो लाग्छ। अहिले पोखराका मेयर तथा अर्थमन्त्रीको बेलुन काण्ड यसका ताजा उदाहरण हुन्।
नेपालको राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, भ्रष्टाचार र अकर्मण्य नेतृत्वले देशलाई संकटतर्फ धकेलिरहेको छ। अबको अवस्था सामान्य रहँदैन। जनतामा बढ्दो असन्तोष, भ्रष्टाचार, आर्थिक मन्दी, सहकारी ठगी, युवा पलायन जस्ता समस्याहरू गहिरिँदै जानु गम्भीर संकेत हुन्। यदि यथास्थिति कायमै रह्यो भने ठूलो परिवर्तन अवश्यंभावी देखिन्छ। नेपालले अब कुनै न कुनै रूपको उथलपुथल सामना गर्नुपर्नेछ।
यो भिडीयो पनी हेर्नुहोला :-





















