Sunday, March 23News That Matters

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा, १७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आज पोखरा स्थित सराङकोट धामको उद्घाटन गर्नुभयो। उहाँ हेलीकप्टरमार्फत काठमाडौँबाट सिधै सराङकोट धाम पुगेर, त्यहाँ निर्माण भएका पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङ्ग तथा जलधारा, ऐतिहासिक भूमेकालिका र भैरव मन्दिर लगायतका धार्मिक संरचनाहरूको उद्घाटन गर्दै श्रीमद्भागवत् ज्ञानमहायज्ञ र धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजा अर्चना गर्नुभयो।

राष्ट्रपति पौडेलले सराङकोटलाई जीवनमा एक पटक पुग्नैपर्ने धामका रूपमा चिनाउँदै, त्यहाँका संरचनाको उद्घाटन गर्न पाउँदा आफूलाई ठूलो सुखानुभूति भएको बताउनुभयो। उहाँले पोखरा, गण्डकी प्रदेश र नेपालका लागि पर्यटन प्रवर्धनमा सराङकोटको अतुलनीय योगदानको महत्व उल्लेख गर्दै यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक धरोहरलाई संरक्षित गर्न आग्रह गर्नुभयो।

फोटो:-परिचय

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उहाँले पोखरेलीहरूको आतिथ्यतालाई राज्यका लागि अनुशरणीय मान्दै, यसलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सराङकोट धामको उद्घाटन प्रदेशका लागि गर्वको कुरा भएको बताउनुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन राजधानीको रूपमा थप लोकप्रिय बनाउनका लागि विभिन्न पहल गरिएको जानकारी दिनुभयो। कार्यक्रममा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतले पनि सराङकोटको महत्वमा धारणा राख्नुभयो।

सराङकोटमा वि.स. २०६१ देखि गुरुयोजना बनाई संरचनाहरूको निर्माण प्रक्रिया जारी छ। हालसम्म ३५ करोड बढी खर्च भइसकेको र आगामी १५ करोडका संरचनाहरू निर्माण गर्ने लक्ष्य राखिएको छ। सराङकोट पुग्न पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलकारमार्फत पनि यात्रा गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस