
पोखरा
महानगरपालिका वडा नम्बर ६, लेकसाइड वाराही मैदान क्षेत्रमा कोटीहोम महायज्ञको भूमिपूजा कार्यक्रम आयोजना गर्ने क्रममा हिजो बिहान आयोजक र नगर प्रहरीबीच झडप भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भूमिपूजाका लागि साइत निकालेको थियो, तर महानगरपालिकाले अनुमति नदिएको भन्दै भूमिपूजन कार्यक्रम रोक्ने प्रयास गर्दा तनाव उत्पन्न भएको हो।

महानगरपालिकाले फेवातालको किनारमा लामो समयसम्म यस्तो कार्यक्रम गर्दा पर्यटकीय गतिविधिमा असर पर्ने र सुरक्षा संवेदनशीलता बढ्ने भन्दै कोटीहोमका लागि अनुमति नदिएको जनाएको छ। नगर कार्यपालिकाको माघ २० गते बसेको बैठकले नेपाल ट्रस्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न पत्र पठाउने निर्णय गरेको थियो। ट्रस्टले भने अनुमति दिइसकेको हुँदा फिर्ता गर्न वा खारेज गर्न नमिल्ने बताएको थियो।
यसअघि, कोटीहोमबारे महानगरपालिका र मानव सेवा फाउण्डेसनबीचको विवाद उच्च अदालतसम्म पुगेको थियो। अदालतले दुई पटक फाउण्डेसनको पक्षमा फैसला गर्दै महायज्ञ सञ्चालनमा अवरोध नगर्न आदेश दिएको थियो।
भूमिपूजन स्थलमा महानगर प्रहरी र केही जनप्रतिनिधि पुगेपछि सो पूजन कार्य रोक्न खोज्दा झडप भएको थियो। झडपमा कोटीहोम पक्षधर र महानगर प्रहरी गरी करिब २० देखि २५ जना घाइते भएका छन्, जसमध्ये ४ जना महानगर प्रहरी गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ। घाइते सबैलाई उपचारका लागि मेट्रो सिटी अस्पताल लगायत अन्य अस्पतालमा पुर्याइएको थियो। कोटीहोम पक्षधरमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ। पोखरा जस्तो शान्त शहरमा झडप हुँदा केही समय माहोल अत्यधिक तनावग्रस्त बनेको थियो। कोटीहोम गर्न दिने वा नदिने विषयमा विवाद चुलिँदै अदालतसम्म पुगेको अवस्थामा यस्तो झडप हुनु स्थानीयहरूका लागि दुःखद भएको उनीहरूले बताएका छन्। साथै, यस घटनाले “पोखरा भ्रमण वर्ष २०२५” लाई कति असर पार्ला भन्ने चिन्ता समेत व्यक्त गरिएको छ।

आगामी २०८१ चैत्र १७ देखि २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम, त्यसपछि बैशाख १७ देखि जेठ ২৬ सम्म महायज्ञ सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
कोटीहोमका प्रमुख विजय कृष्ण मुर्तिले केही सञ्चार माध्यममार्फत निर्धारित समयमै कोटीहोम हुने स्पष्ट पारेका छन्। उनले महानगरपालिकाको अवरोधका बाबजुद कार्यक्रम यथासमयमै सञ्चालन हुने दाबी गरेका छन्। झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाका बीच पनि आयोजक पक्ष दृढ रहेको जनाएका छन्।
विजय कृष्ण मुर्तिले अदालतको आदेशलाई आधार बनाउँदै कोटीहोम रोक्न नहुने तर्क गरेका छन्। उनका अनुसार आगामी २०८१ चैत्र १७ देखि २०८२ बैशाख १७ सम्म प्रचारात्मक कार्यक्रम सञ्चालन हुने छ भने बैशाख १७ देखि जेठ ২৬ सम्म कोटीहोम महायज्ञ निर्धारित स्थानमै हुनेछ।
घटनापछि लेकसाइड क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाको हस्ताक्षरयुक्त विज्ञप्ति जारी गरेको छ।

यसैबीच, शनिबार बिहान ११ बजे स्ट्रिट नं. २६, डिहीको पाटनस्थित होली शिव होटलमा पत्रकार सम्मेलन आयोजना हुने भएको छ। पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले स्वतःस्फूर्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
ऐतिहासिक श्री गण्डकी कोटीहोम महायज्ञ २०८२ को विषयमा आज पत्रकार सम्मेलन गरिने भएको छ। विश्व हिन्दु महासंघ कास्की शाखा लगायत पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाको आयोजनामा यो पत्रकार सम्मेलन हुन लागेको हो।
