Sunday, March 23News That Matters

कोटिहोम विवाद: विश्व हिन्दु महासंघको आपत्ति, महानगर प्रवक्तामाथि विश्वासघातको आरोप

यो समाचार शेयर गर्नुहोस्

पोखरा

कोटिहोम भूमिपूजनका क्रममा भएको झडपलाई लिएर विश्व हिन्दु महासंघ कास्कीले कडा आपत्ति जनाएको छ। महासंघकी उपाध्यक्ष पार्वता पौडेलले नारी दिवसकै नजिक महिलामाथि अमानवीय व्यवहार भएको भन्दै घटनाप्रति दुःख व्यक्त गरिन्।

महासंघका वरिस्ठ उपाध्यक्ष शंकर खरालले पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरले धार्मिक द्वन्द्व मच्चाउन खोजेको आरोप लगाए। उनले सत्यतथ्य लेख्न पत्रकारहरूलाई आग्रह गर्दै, आफ्नो अडियो सार्वजनिक गरेर महानगर प्रवक्ता मोति तिमिल्सिनाले विश्वासघात गरेको दाबी गरे। उक्त अडियोमा खरालले “कोटिहोम रोके उडाई दिने” भन्दै आपत्तिजनक भाषा प्रयोग गरेको सार्वजनिक भएको छ।

यसैबीच, विश्व हिन्दु महासंघ नेपाललगायत विभिन्न धार्मिक संस्थाहरूले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत महानगरको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महासंघका अध्यक्ष जगन्नाथ कोइरालाले पोखरा महानगर र प्रहरी प्रशासनले कोटिहोम भूमिपूजनमा अवरोध सिर्जना गर्न गुण्डाहरूको समेत प्रयोग गरेको आरोप लगाए।

धार्मिक अनुष्ठानहरूको स्थल नदीकिनारमा हुने परम्परालाई स्मरण गराउँदै महासंघले फेवा किनारमा कोटिहोम रोक्न खोज्नु अन्यायपूर्ण भएको बताएको छ। साथै, उच्च अदालतले कोटिहोम नरोक्न आदेश दिइसकेको अवस्थामा महानगरको हस्तक्षेप अनावश्यक रहेको महासंघको दाबी छ।

विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षतामा पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा मातृशक्ति गण्डकी प्रदेशका संयोजक पार्वता पौडेल, विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समिति कास्की जिल्लाका महासचिव भुपेन्द्र गिरीले समेत बोलेका थिए । मानव सेवा फाउन्डेसनले पोखराको बाराहीघाटमा वैशाख १७ देखि कोटीहोम गर्ने भनेको छ भने पोखरा महानगरले उक्त ठाउँमा कोटीहोम हुनै नसक्ने बताउँदै आएको छ ।

महायज्ञ रोक्न नहुने माग, विश्व हिन्दु महासंघको आन्दोलनको चेतावनी

विश्व हिन्दु महासंघले कोटिहोम महायज्ञ रोक्न नहुने माग राखेको छ। महासंघका उपाध्यक्ष शंकर खरालले यदि महायज्ञ अवरोध गरिए वा समाधान नखोजिए, चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

खराल, जो अन्तर्राष्ट्रिय हिन्दु परिषदका अध्यक्ष पनि हुन्,ले आइतबार बिहान ९:३० देखि १०:३० बजेसम्म पोखरा महानगरपालिकामा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए। साथै, महानगरले सोमबार दिउँसो ३ बजे वार्तामा बोलाएको भन्दै, वार्ताले समाधान नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।

उनले धार्मिक संघसंस्थाहरूसँग परामर्श गरी आन्दोलनको रणनीति तय गरिने बताए। साथै, धार्मिक संस्थामाथिको अवहेलना स्वीकार्य नहुने स्पष्ट पारे।

महासंघले कोटिहोम कार्यक्रम रोक्न खोज्ने गतिविधिहरूको भर्त्सना गर्दै आगामी दिनमा धार्मिक स्वतन्त्रता सुनिश्चित गर्न सबै पक्षलाई संवेदनशील बन्न अपिल गरेको छ।

प्रतिकृया दिनुहोस