
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा संयुक्त विद्यार्थी सङ्गठनहरूको साझा प्यानलका साथ चुनावमा होमिएका उमेद्वारहरुले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । अनेरास्ववीयु, अखिल क्रान्तिकारी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूह र अनेरास्ववियु बहुमतको संयुक्त प्यानलका साझा उमेदरवारहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

उनीहरूको घोषणा पत्रमा समग्र पृथ्वीनारायण क्याम्पसको शैक्षिक सुधार, प्रशासनिक कार्यका सिलसिलामा विद्यार्थीहरूले भोग्नु परेका जटिलताहरूको समाधानमा खबरदारी, विद्यार्थी हकहितको वकालत, शैक्षिक वातावरणमा सुद्धिकरण र क्याम्पसको सर्वाङगिण विकासका तमाम विषयहरूमा आफ्नो सरोकार र चासो व्यक्त गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

विभिन्न कारणले धमिलिएको क्याम्पसको शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री बनाउँदै सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षाका लागि विशेष पहल गर्ने उनीहरूको प्रतिबद्धता छ । संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा अनेरास्ववीयुका सन्तोष पौडेल, सचिवमा अखिल क्रान्तिकारीका किरण खड्का र कोषाध्यक्षमा अखिल समाजवादीका सचिन पोखरेल सहित ११ जनाले उम्मेदवारी दिएका छन् ।

समानुपातिकमा भने प्रत्येक सङ्गठनको तर्फबाट १०/१० जनाले उम्मेदवारी दिएका छन् । यही चैत्र ५ गते पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्ष पछी स्ववियुको चुनाव हुदैँछ ।