Wednesday, April 30News That Matters

२०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तिव्र , पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था

यो समाचार शेयर गर्नुहोस्

पोखरा

नेपाली संस्कृति संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन, र आन्तरिक तथा बाह्य पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पोखरामा  २०औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तिव्र रूपमा अघि बढाइएको छ। महोत्सव चैत ३० देखि वैशाख १ गतेसम्म फेवाताल किनारको ड्यामसाइडदेखि खहरेसम्म सञ्चालन हुनेछ। 

नेपाली नयाँ वर्षलाई भव्य रूपमा मनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्दै मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवमा सांस्कृतिक झाँकी, लोकदोहोरी, भजन, चुट्का, पप कन्सर्ट, पर्यटक दौड प्रतियोगिता, मौलिक तथा रैथाने खानाको प्रदर्शनी, हस्तकला तथा कृषि सामग्री प्रदर्शनी लगायतका कार्यक्रम समावेश गरिएका छन्। महोत्सव नि:शुल्क रहेको महोत्सव संयोजक एवं अध्यक्ष होटल संघ पोखरा नेपालका लक्ष्मण सुवेदीले बताउनु भयो ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । नेपाल पत्रकार महासंघ कास्कीका सभापति माधव वरालले पोखरा आउने पर्यटकको उचित तथ्यांक राख्न सम्वन्धित संघलाई सुझाव दिए ।

महोत्सवको अवसरमा पोखरा भ्रमणलाई प्रवर्द्धन गर्न होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट दिने भएका छन्। चिनियाँ पर्यटकका लागि विशेष गाइड सेवा र उनीहरूको रोजाइअनुसारको खानपानको व्यवस्था गरिएको बताइएको छ । 

नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका विभिन्न शहरहरूमा “जाउँ है पोखरा” अभियान सञ्चालन गरी महोत्सवमा सहभागिताका लागि आमन्त्रण गरिएको छ। महोत्सवकै कारण हालसम्म पोखराका होटलहरूको अकुपेन्सी ४० प्रतिशत नाघिसकेको कार्यक्रम संयोजकले जानकारी दिनु भयो । 

महोत्सवलाई व्यवस्थित बनाउन २१ भन्दा बढी समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा विभिन्न व्यवसायिक प्रतिष्ठानहरूले महोत्सवमा सहयोग गर्नेछन्। महोत्सवका अवसरमा पोखरा भ्रमणलाई थप सहज बनाउन धुमधाम पोखरा, शैक्षिक भ्रमण, मधुमास पोखरा, पोखरा-मुक्तिनाथ यात्रा लगायतका प्याकेजहरू घोषणा गरिएका छन्।

नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकहरुको वसाई अवधि लम्व्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उदेश्य रहेको कार्यक्रमका संयोजक एवं अध्यक्ष होटल संघ पोखरा नेपालका लक्ष्मण सुवेदीले बताउनु भयो ।

सन् २०२५ लाई पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गरिसकेको छ। यो महोत्सवले सो अभियानलाई थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यो भिडियो पनि हेर्नुहोला:-

प्रतिकृया दिनुहोस