
पोखरा
पोखराको वडा नम्बर ७ मासवारमा चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्।
मंगलबार करिब दिउँसो ३ बजे पैदल यात्रुले स्थानीय शोभा चन्द्र बरालको घरको कम्पाउन्डभित्र चितुवा देखिएको बताएका थिए। त्यसपछि स्थानीयहरूले डिभिजन वन कार्यालय, कास्कीलाई जानकारी गराए।

सूचना प्राप्त लगत्तै पोखरा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य तथा डिभिजन वन कार्यालय, कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्काल उद्धार प्रक्रिया अघि बढायो।
चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरिएको छ।

चितुवा देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो भने केही समय चितुवा हेर्नेको भिडसमेत लागेको थियो। डिभिजन वन कार्यालय, कास्कीको वन्यजन्तु नियन्त्रण टोलीले चितुवालाई सुरक्षित रूपमा उद्धार गरेपछि स्थिति सामान्य बनेको छ।