
पोखरा
सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा छैटौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आगामी चैत्र २६-२८ गते पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित आयोजना हुने यस प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्।आयोजकका अनुसार ५० टिमको सहभागिता अपेक्षा गरिएको छ।विजेता (छात्र/छात्रा) १ लाख ७५ हजार ,उपविजेता (छात्र/छात्रा) ६०/५० हजार , तृतीय स्थान (छात्र/छात्रा) ३५/२५ हजार , सर्वोत्कृष्ट खेलाडी (छात्र/छात्रा) ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिबल पुरस्कार राखिएको संघका महासचिव चन्द्र गिरीले बताउनु भयो ।
प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारकर्मीहरूको सहयोगको अपेक्षा गरिएको आयोजकले बताएका छन्। ११.४९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट १२.५० लाख आम्दानी गरी १.०१ लाख रुपैयाँ बचतगर्ने लक्ष्य राखिएको छ, जसलाई भलिबल विकासका लागि खर्च गरिनेछ।
सिर्जना विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद बराल र कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङले खेलाडी उत्पादन तथा खेलको प्रवर्द्धनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहने बताएका छन्।
सभापति विष्णु बरालले सरकारको उदासीनताप्रति खेद व्यक्त गर्दै भने, “यस्ता प्रतियोगिता पहिले सरकारले आयोजना गर्ने गर्थ्यो, तर अहिले गर्न सकेको छैन। स्थानीय सरकार, संघीय सरकार र महानगरले पनि खेलकुद प्रवर्द्धनमा प्रभावकारी काम गर्न सकेका छैनन्। हामीले निरन्तर सहयोगको अपिल गरिरहेका छौं, तर पर्याप्त सहयोग पाएका छैनौं।”

उनले थपे, “खेलकुद क्षेत्रको विकासमा राज्यको भूमिका कमजोर बन्दै गएको छ। सरकारको साथ र सहयोग नहुँदा पनि हाम्रो संस्था सिर्जना विकास केन्द्रले निरन्तर भलिबल लगायत अन्य खेलकुद गतिविधिहरू सञ्चालन गरिरहेको छ।”
४६ वर्षदेखि समाजसेवामा सक्रिय यस संस्थाले महिला सशक्तीकरण, बालगृह सञ्चालन, शिक्षा, स्वास्थ्य तथा खेलकुदमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल बालगृहमा १७ बालबालिका आश्रित रहेका छन्, जसलाई संस्था पूर्ण रूपमा निःशुल्क सहयोग प्रदान गरिरहेको छ।
सफल बिक राष्ट्रिय भलिबल खेलाडी हुन्, जसले सिर्जना विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा आफ्नो बाल्यकाल बिताएका थिए। आर्थिक अभावका कारण खेलकुदमा अवसर नपाउने अवस्थामा उनलाई संस्थाले सम्पूर्ण खर्च व्यहोरेर सहयोग गरेको थियो। निरन्तर मेहनत र संस्थाको समर्थनका कारण उनी अहिले राष्ट्रिय स्तरका भलिबल खेलाडी बन्न सफल भएका छन्। उनको सफलता सिर्जना विकास केन्द्रको समाजसेवाप्रति समर्पणको एक उत्कृष्ट उदाहरण हो।

यो प्रतियोगिता भलिबल खेलमा नयाँ प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर हुने आयोजकको विश्वास रहेको छ।