Wednesday, April 30News That Matters

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा—

पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव – २०८१ को आयोजना गर्ने भएको छ। महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशका नाटकहरू प्रस्तुत गरिनेछन्।

वि.सं २०७५ मा पहिलो पटक आयोजना गरिएको पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, मेसेडोनिया लगायतका देशका कलाकारहरूको उपस्थिति रहेको थियो। उक्त महोत्सवले पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
यसै परम्परालाई निरन्तरता दिँदै पोखरा थिएटरले पुनः दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको हो।

यस महोत्सवमा पाँच देशका नाटकहरू मञ्चन हुनेछन्, जसले बहुसांस्कृतिक तथा विविध नाट्य अनुभव प्रदान गर्नेछ।
फोरम थिएटर र कार्यशालाहरू मार्फत कलाकार, रंगकर्मी, पर्यटन व्यवसायी, र संस्कृतिप्रेमीहरूले अन्तरक्रियाका अवसर पाउनेछन्।
संस्कृतिकर्मी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, तथा नाट्यप्रेमीहरूका लागि खुला छलफल तथा संवाद कार्यक्रम सञ्चालन गरिनेछ।
पोखरालाई सांस्कृतिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवका संयोजक धनकाजी श्रेष्ठले महोत्सव पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए।
संघसंस्था संयोजक प्रमिला तुलाचनले पोखरेली कलाकार तथा पर्यटन क्षेत्रका व्यवसायीहरूलाई समेत महोत्सवले फाइदा पुग्ने विश्वास व्यक्त गरिन्।

पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले भने, “हामीले देखिरहेका यथार्थ मात्रै नाटक होइन, विभिन्न विधा र नाट्य शैलीहरूसमेत पोखरेली दर्शकले अनुभव गर्नेछन्।” उनले पोखरेली दर्शकलाई फरक नाट्य स्वाद दिन महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गरे।

महोत्सवका निर्देशक परिवर्तनका अनुसार कार्यक्रम सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट आवश्यक पर्नेछ। उनले पोखरा महानगरपालिकासँग सहयोगको अपेक्षा गरिएको जानकारी दिए।
उनका अनुसार यस महोत्सवले पर्यटकहरूलाई लक्षित गर्दै पोखराको सांस्कृतिक पर्यटन वर्ष सफल बनाउने विश्वास राखिएको छ।

पोखराका सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, कलाकार, रंगप्रेमी तथा स्थानीय समुदायलाई महोत्सवमा उपस्थित भई पोखराको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन निर्देशक परिवर्तनले सहयोगको अपेक्षा व्यक्त गरे।

यो भिडियो पनि हेर्नुहोला:~

प्रतिकृया दिनुहोस