
पोखरा
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ। आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः पोखरा महानगरपालिका-१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर गुठीको जग्गा तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअघि, बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते भूमिपूजनका क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो। त्यसपछि फागुन २६ गते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, पोखरा महानगरका पदाधिकारी, विश्व हिन्दू महासंघका प्रतिनिधि, र महायज्ञ आयोजकबीच बैठक बसेर समस्या समाधान समिति गठन गरिएको थियो।
समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः पोखरा १७, बिरौटाको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर गुठीको स्वामित्वमा रहेको जमिनमा महायज्ञ गर्ने निर्णय गरेको हो। पोखरा महानगरपालिकाले महायज्ञका लागि वैकल्पिक स्थान उपलब्ध गराएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामै महायज्ञ आयोजना गर्न तयार भएको हो।

पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वार्ड नं. १७, पोखरा महानगरपालिका, र जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएपछि महायज्ञको तयारी तीव्र पारिएको छ।
आइतवार, महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई स्थानीय आमा समूह, टोल विकास समिति, तथा संघ-संस्थाका प्रतिनिधिले स्वागत गरेका छन्। साथै, कोटिहोम सफल बनाउन ऐक्यबद्धता व्यक्त गरेका छन्।
