
पोखरा
पृथ्वीनारायण (पीएन) क्याम्पसमा पुनः अनेरास्ववियुले आफ्नो प्रभाव कायम राख्दै पूर्ण प्यानलसहित विजय हासिल गरेको छ। अध्यक्ष पदमा विष्णु पोखरेलले अन्य प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै जित निकालेका छन्।
नेविसंघ, समाजवादी मोर्चा, स्वतन्त्र उम्मेदवारलगायतले क्याम्पसमा अनेरास्ववियुको वर्चस्व तोड्ने दाबी गरे पनि अन्ततः पोखरेल नेतृत्वको टिमले सफलता हात पार्यो। प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले अपेक्षाकृत समर्थन जुटाउन सकेनन् भने स्वतन्त्र रूपमा मैदानमा उत्रिएकी विप्लवी न्यौपाने पनि अग्रपंक्तिमा उक्लिन असमर्थ रहिन्।
मत परिणामअनुसार पोखरेलले १,१०५ मत प्राप्त गर्दा नेविसंघका न्यौपानेले ५०३ मत मात्र ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवीले ४६९ मत प्राप्त गरिन्, भने माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारी २२३ मतमा सीमित रहे।
सचिव पदमा अनेरास्ववियुका विराज दुवाडीले अत्यधिक मतान्तरसहित जित निकालेका छन्। उनले १,४१३ मत प्राप्त गर्दा नेविसंघका विवेक भट्टराईले ६२८ मतमा चित्त बुझाउनुपर्यो। कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ विजयी भइन्, जसले १,३०४ मत प्राप्त गरिन्।
९,००० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा ७,४०० जनाले परिचयपत्र लिए पनि मतदानमा मात्र २,८९७ मत खसेको थियो। यो जम्मा ३९.१२ प्रतिशत मात्र हो, जुन पीएन क्याम्पसको इतिहासमै सबैभन्दा न्यून मतदान प्रतिशत मानिएको छ।
राजनीतिक रूपमा प्रभावशाली मानिएको पीएन क्याम्पसबाट विगतका धेरै विद्यार्थी नेताहरू उच्च पदमा पुगिसकेका छन्। यहाँबाट निर्वाचित अधिकांश स्ववियु सभापतिहरू एमालेमा विभिन्न जिम्मेवारीमा रहेका छन्। पूर्वप्रदेश प्रमुख सोमनाथ प्यासी, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, दिवंगत पूर्वमन्त्री रविन्द्र अधिकारी, पोखराका मेयर धनराज आचार्यलगायतले यही क्याम्पसबाट नेतृत्व यात्रा थालेका थिए।
यसअघि विवादका कारण स्थगित भएको स्ववियु निर्वाचन १६ वर्षपछि सम्पन्न भएको हो। विजयी अध्यक्ष पोखरेलले विद्यार्थी हितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।