Wednesday, April 30News That Matters

पोखरा-८ वडा कार्यालयको नयाँ भवन सञ्चालनमा, सेवा प्रवाह सहज

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडा कार्यालय पोखराको केन्द्रमै रहेको बताए। उनले १५ आनाको जग्गामा महानगरको ४० प्रतिशत र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको जानकारी दिए। लिफ्टसहितको आधुनिक भवन बनेको उनको भनाइ छ।

नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह सहज भएको उनले बताए। वडाको समग्र विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले नयाँ भवनले नागरिकसँगको सम्बन्ध अझ सुदृढ बनाउने दाबी गरे। स्थानीय सरकारको प्रभावकारिता बढाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उनको भनाइ छ।

यस भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा प्राप्त गर्नेछन्। स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने वडाध्यक्ष बरालले जानकारी दिए।

कार्यक्रममा पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, एमाले पोखरा-८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा-८ का अध्यक्ष बाबुराम चालिसे, हातेमालो आमा समूहकी अध्यक्ष अपीला बराललगायतले मन्तव्य राखेका थिए।

वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पवित्रा पौडेल केसीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन वडा सचिव झंकनाथ पौडेलले गरेका थिए।

प्रतिकृया दिनुहोस