

पोखरा
पोखरा, १७ चैत— अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन प्रक्रियासम्बन्धी उठाएको असहमति समाधान भएपछि निर्वाचनमा सक्रिय सहभागिता जनाउने घोषणा गरेको छ।

यसअघि, जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सन्दर्भमा क्याम्पस प्रशासन र निर्वाचन समितिले अखिल (क्रान्तिकारी) को माग बेवास्ता गर्दै चैत ५ गते निर्वाचन प्रक्रिया अघि बढाएपछि संगठनले विरोधस्वरूप तालाबन्दी गरेको थियो। अन्ततः प्रशासन र निर्वाचन समितिले नयाँ प्रक्रियाबाट मनोनयन अघि बढाउने सहमति गरेपछि संगठनले उक्त निर्णयलाई स्वागत गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुने प्रतिबद्धता जनाएको छ।

अखिल (क्रान्तिकारी) ले निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्दै अन्य विद्यार्थी संगठनहरूलाई पनि निष्पक्ष प्रतिस्पर्धाका लागि तयार रहन अपिल गरेको छ।

“विद्यार्थी अधिकार र हितको रक्षा हाम्रो प्रमुख लक्ष्य हो। स्ववियु निर्वाचनमार्फत हामी यसको सुनिश्चितता गर्नेछौं,” संयोजक सुदिप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
