

पोखरा
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सम्मानमा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८१ साल चैत्र २२ गते शुक्रबार पोखरा सभागृहमा दिउँसो ३ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार, कार्यक्रममा पुरुषोत्तम न्यौपानेले आफ्ना १८ लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ। साथै, उहाँको जीवनीमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिनेछ। सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको छ।

पुरुषोत्तम न्यौपाने नेपाली लोकदोहोरी क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनु भएको छ। २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीतबाट सांगीतिक यात्रा प्रारम्भ गर्नु भएका न्यौपानेका ‘झिलझिल सितारा’, ‘ऐना हेरेर’, ‘फूलको बासना’, ‘श्रीखण्ड चन्दन’, ‘मिर्मिमुनी काली धुनेको’, ‘रुन्छनी मन किन रुदैन’ लगायतका थुप्रै गीतहरू लोकप्रिय छन्। २०५४ सालमा ‘ऐना हेरेर’ र २०५५ सालमा ‘निलो पछ्रयौरी’ एल्बम म्युजिक नेपालबाट निकाली लगातार तीन वर्ष म्युजिक नेपाल अवार्ड समेत उहाँले प्राप्त गर्नुभएको छ।
उहाँको यसअघि पोखरा र काठमाडौंमा एकल साँझ सम्पन्न भइसकेको छ भने यो तेस्रो हो।

कार्यक्रमको तयारी सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीको उपस्थिति रहेको थियो। लोक दोहोरी प्रतिष्ठानका सुवास कार्कीले यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा खुशी लागेको विचार व्यक्त गर्नुभयो। पत्रकारहरूको जिज्ञासाको जवाफ दिने क्रममा वरिष्ठ गायक न्यौपानेले आफू सानैदेखि गीतसंगीत सुन्ने, विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा भाग लिने तथा पुरस्कार पनि जित्ने गरेको स्मरण गर्नुभयो। गाउँमा रहँदा उहाँको दैनिकीमा पढाइ, घाँस काट्ने, गाईबाख्रा हेर्ने जस्ता कार्यहरू समावेश थिए। विद्यालयमा अध्ययन गर्दा, विद्यालयका कार्यक्रमहरू, रेडक्रस दिवस, चारपाते क्लब लगायतका संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा तथा वक्तृत्वकला र गायन प्रतियोगिताहरूमा उहाँले सक्रिय रूपमा भाग लिनुहुन्थ्यो। जुन कुरा उहाँले पत्रकारहरु माझ सार्बजनिक गर्दै पढाउने शिक्षकहरूले काँधमा हात राखेर ढाडस दिएपछि आफू निकै प्रफुल्लित हुँदै यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो।
अध्यक्ष रिता थापा मगरका अनुसार, यस कार्यक्रमको लागि करिब २५ लाख रुपैयाँ जुटिसकेको छ।
कार्यक्रममा देशभरका कलाकारहरू, संगीतप्रेमीहरू तथा लोककला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा रुचि राख्ने हजारौं दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।