
पोखरा
होटल संघ पोखरा नेपालको आयोजनामा २० औं फेवा नव वर्ष महोत्सव २०८२ यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइडसम्म भव्य रूपमा आयोजना हुने भएको छ। महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
“पर्यटन, संस्कृति र खाना” मुख्य विषयमा केन्द्रित महोत्सवमा रैथाने परिकार, मौलिक झाँकी, सांस्कृतिक प्रस्तुति, पप कन्सर्ट, लोकदोहोरी, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड, कृषि तथा हस्तकलाको प्रदर्शनी लगायत विविध कार्यक्रम समावेश गरिएका छन्। यसपटक संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता विशेष आकर्षणका रूपमा समावेश गरिएको छ।

नेपाल पर्यटन बोर्डको सहयोगमा “जाउँ है पोखरा” अभियान सञ्चालन गरी पूर्वी नेपालका विभिन्न शहरहरूमा महोत्सवमा सहभागिताका लागी प्रचारगर्दै आमन्त्रण गरिएको तथा महोत्सवकै कारण हालसम्म पोखराका होटलहरूको अकुपेन्सी ४० प्रतिशत नाघिसकेको कुरा पनि यसअघिकै पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन २१ भन्दा बढी समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको जानकारी पनि यसअघिकै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो। साथै पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, होटल संघ नेपाल, नेपाल पर्यटन बोर्ड तथा विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको सक्रिय सहयोग रहनेछ।

संघ अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले स्थानीयलाई कुनै असुविधा नहोस् भनेर सवारी व्यवस्थापनमा विशेष सुधार गरिएको जानकारी दिए। “बिगतमा देखिएको जाम वा अफ्ठेरो नपरोस् भनेर यसपटक आवश्यक पूर्वतयारी मिलाइएको छ,” उनले बताए।
महोत्सवका अवसरमा “धुमधाम पोखरा”, “शैक्षिक भ्रमण”, “मधुमास पोखरा” र “पोखरा-मुक्तिनाथ यात्रा” जस्ता विशेष प्याकेजहरूको घोषणा पनि यसअघिकै पत्रकार सम्मेलनमार्फत गरिएको थियो, जसले पर्यटकलाई सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
अघिल्लो वर्ष २ लाख ७५ हजार भन्दा बढी पर्यटकले महोत्सवको अवलोकन गरेका थिए भने, यसपटक ३ लाख पर्यटकको सहभागिता हुने विश्वास आयोजकले गरेका छन्।
संघ अध्यक्ष सुवेदीका अनुसार, महोत्सवको मुख्य उद्देश्य नेपाली संस्कृतिको संरक्षण गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्नु, पर्यटकको बसाइ अवधि लम्ब्याउनु र आर्थिक गतिविधि चलायमान बनाउनु हो।

साथै, सन् २०२५ लाई पोखरा महानगरले “पोखरा भ्रमण वर्ष” घोषणा गरिसकेको हुँदा, यो महोत्सवले उक्त अभियानलाई थप ऊर्जा र सहयोग पुर्याउने विश्वास लिइएको छ।