
नयाँ वर्ष २०८२ को अवसरमा पोखरा–१०, बुद्धचोकस्थित आविष्कार हस्पिटल आर्थ्रोप्लाष्टी एण्ड ट्रमा सेन्टरमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूबीच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
अस्पतालका अध्यक्ष तथा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सञ्जय कोइरालाले २०८२ सालको शुभकामनासहित अस्पताल सञ्चालनको छोटो अवधिमा नै यसले स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरूमा सेवा अझ सहज र प्रभावकारी ढंगले प्रदान गर्ने लक्ष्य लिएको स्पष्ट गर्नुभयो।
अस्पतालका प्रबन्ध निर्देशक, वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा दुखाइ रोग विशेषज्ञ डा. कृष्ण बोगटीले अस्पतालले नयाँ–नयाँ सेवा थप्दै आएको र सामाजिक सुरक्षा कोषमा आबद्ध भई उक्त कोषका योगदानकर्ता कर्मचारीहरूले सहज रूपमा सेवा लिन सक्ने जानकारी दिनुभयो।
कार्यक्रममा सञ्चालक समिति सदस्य, वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. रमेश शर्माले नयाँ वर्ष २०८२ को शुभकामना दिँदै कर्मचारीहरूले बिरामीप्रति देखाउने जिम्मेवारीबारे जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन अस्पतालका प्रबन्धक राम शर्मा बास्तोलाले गर्नुभएको थियो। उहाँले कर्मचारीहरूको भूमिकाले बिरामीलाई प्रदान गरिने सेवाको गुणस्तरमा ठूलो प्रभाव पार्ने बताउनुभयो।
सो अवसरमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी दिलकुमारी गुरुङलाई उत्कृष्ट कर्मचारी (२०८१) का रूपमा दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो।