
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले नव वर्ष २०८२ को अवसरमा जनताप्रति शुभकामना दिँदै एउटा गहिरो सन्देश दिएका छन्। सन्देशमा उनले भनेका छन्, “संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौँ नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ।”
उनको यो भनाइ केवल शुभकामनामात्र होइन, वर्तमान राजनीतिक अवस्थाप्रति एउटा गम्भीर सन्देश र सम्भावित घटनाको चेतावनीको संकेत पनि हो। यसले राजनीतिक दलहरूलाई विचार गर्न बाध्य पार्ने खालको विषय उठाएको छ। तर प्रमुख दलहरू यसबारे हालसम्म मौन छन्।
नेपाल एउटा यस्तो मुलुक हो, जहाँ चार जात छत्तीस वर्णका मानिसहरू युगौँदेखि एकै फूलबारीको रूपमा मिलेर बसेका छन्। यहाँको भूगोल, अनुहार, भाषा र संस्कृति विश्वका विभिन्न समुदायहरूसँग मेल खान सक्छ, तर नेपालीहरू आफ्नै मौलिकता र आत्मस्वाभिमानका साथ बाँचिरहेका छन्। यही विविधताको सुगन्ध बोकेको नेपाली समाजमा, पूर्वराजाले ‘सबै कुरा नेपालमै छन्’ भन्दै विदेशिएका नेपालीहरूलाई नेपाल फर्कन आह्वान गरेका छन्। उनले स्वदेश फर्किएर यही माटोमा रहेका सम्भावनाहरू चिनेर, यहीँबाट कर्म गर्ने सन्देश दिन खोजेका छन्।
यति बेला आएर गणतन्त्रको रक्षा र लोकतान्त्रिक मूल्यहरूको जगेर्नाका लागि सत्तारूढ दलहरू पनि आ-आफ्नो शक्ति प्रदर्शन गर्ने होडमा देखिएका छन्। तर लोकतन्त्र वा गणतन्त्र जे भए पनि, नागरिकलाई आफ्ना विचार अभिव्यक्त गर्ने अधिकार हुनुपर्छ—राजतन्त्रको पालामा जस्तै, लोकतन्त्रमा पनि। पूर्वराजाले उठाएका कतिपय प्रश्नहरूलाई व्यक्तिगत आकांक्षाको रूपमा मात्र होइन, जनतामाझ व्याप्त असन्तोषको आवाजको रूपमा पनि हेर्न सकिन्छ।
साथै, उनले ‘यो तन्त्र, यो बाद’ को नाममा बसिरहनु हुँदैन भन्ने कुरा उठाउँदै जनता स्वयंले नेपालको भविष्यबारे सोच्नुपर्ने बेला आएको बताएका छन्। उनका अनुसार लोकतन्त्रमा जनताले ‘यो भयो, त्यो भएन’ भनेर आवाज उठाउन पाउने अधिकार हुनुपर्छ।
हालै तिनकुनेको घट्नालाई लिएर पनि जनआक्रोश बढिरहेको बेला, पूर्वराजाको सन्देशले थप बहसको खोर खोलिदिएको छ। केहीले यसलाई केवल शुभकामना सन्देशको रूपमा हेरेका छन् भने केहीले यसलाई प्रत्यक्ष राजनीतिक चेतावनीको रूपमा लिएका छन्।
हालसालै उनका गतिविधिहरू फेरि सक्रिय देखिन थालेका छन्, र यसले ‘राजा अब इतिहास बनिसके’ भन्ने धारणा राख्नेहरूलाई समेत सोच्न बाध्य बनाएको छ।
पूर्वराजाको सन्देश सरल भाषामा भए पनि, त्यसको गहिरो अर्थ राजनीतिक, सामाजिक र राष्ट्रियताको दृष्टिले निकै महत्त्वपूर्ण देखिन्छ। अब दलहरू यसलाई कसरी लिन्छन्, जनताको चेतनामा यसको प्रभाव कस्तो पर्छ—हेर्न बाँकी नै छ।