Sunday, May 18News That Matters

प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता : कमल गिरि

यो समाचार शेयर गर्नुहोस्

पोखरा

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दुई दिने ‘विकास पत्रकारिता तालिम’ सम्पन्न भएको छ। वैशाख २६ र २७ गते सञ्चालन भएको तालिममा विकास पत्रकारिता, आर्थिक पत्रकारिता, जनपत्रकारिता तथा सञ्चार माध्यमको सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइएको थियो।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा सम्पन्न तालिममा पहिलो दिन बिनोद शर्मा र दिपक परियारले प्रशिक्षण दिएका थिए। दोश्रो दिनमा प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य चिरन्जीवी अधिकारीले आइटी सम्बन्धी ग्यान समेत प्रदान गरेका थिए।

प्रशिक्षक बिनोद शर्माले पत्रकारितालाई राइट होल्डर्सबाट डिउटी बेरियर्ससम्म पुर्‍याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले विकास पत्रकारिताको सम्मानजन्य भूमिका स्थापित गर्नका लागि सूचना श्रृंखला (Chain of Information) लाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरि, अनुभवी पत्रकार तथा सञ्चारकर्मीले मिसन पत्रकारितामा सबैले आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक लाग्नुपर्ने धारणा व्यक्त गरे। उनले उद्देश्यपरक, जनपक्षीय र विकासमुखी पत्रकारिता आजको आवश्यकता रहेको बताए। लोकतन्त्रको रक्षा गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको भन्दै स्वनिर्भर पत्रकारिता गर्नका लागि विकास पत्रकारिता तालिम उपयोगी भएको उनको भनाइ थियो।

केन्द्रीय अध्यक्ष गिरिले परम्परागत मिडिया रेडियो, टिभी र पत्रपत्रिका धरापमा परेको र डिजिटल प्लेटफर्ममा पत्रकारिताको प्रवृत्ति बढ्दै गएको बताए। प्रेस सेन्टर नेपालले तथ्यपरक, व्यवसायिक र मिशन केन्द्रित पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए।


सहभागीहरूलाई प्रमाणपत्र वितरण अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टर गण्डकीका महासचिव गुणाखर रोकाले जानकारी दिनुभयो। कार्यक्रममा तनहुँ अध्यक्ष अस्मिता खनाल, कास्की अध्यक्ष दीननाथ बराललगायतले सम्बोधन गर्नुभएको थियो।

तालिमको अनुगमन गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले गरेकी थिइन्। उनले पत्रकारिताले सरकार र जनताको बीचमा सेतुको काम गर्नुपर्नेमा जोड दिँदै सरकारका राम्रा कामको प्रचार र गलत कामको खबरदारी गर्न पत्रकारिताको भूमिकाबारे पनि सुझाव दिइन्।

प्रतिकृया दिनुहोस