Wednesday, March 11News That Matters

पोखरामा सुरु हुँदै नवौ एन.भी.ए प्रधानमन्त्री कप भलिवल लिग पोखरा बन्ने भलिवलको सहर

यो समाचार शेयर गर्नुहोस्

पोखरा

नेपाल भलिवल संघको आयोजनामा पोखरामा ‘नवौ प्रधानमन्त्री कप– एन.भी.ए महिला तथा पुरुष भलिवल लिग २०८२’ आयोजना हुने भएको छ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म कास्कीको पोखरामा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका शीर्ष क्लबहरूको सहभागिता रहनेछ । संघले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने र ३२ लाख रुपैयाँ बराबरको पुरस्कार राशी रहने जानकारी दिएको छ ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पोखरा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको शहर भएको उल्लेख गर्दै पोखरालाई भलिवुड सिटीको रूपमा स्थापित गर्ने दिशामा संघ अघि बढेको बताए । उनले यस प्रतियोगिताको सफल आयोजना गर्न सबै पक्षको सहयोग अपेक्षित रहेको भन्दै आगामी दिनमा काभा च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिता पनि पोखरामै आयोजना गरिने जानकारी दिए । उनका अनुसार अब त्यसका लागि धेरै कुर्नु पर्ने छैन ।

प्रतियोगितामा पुरुष र महिला दुवै लिगमा उत्कृष्ट टिमलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रथम हुने टिमले पाँच लाख, दोस्रो हुनेले चार लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्भर, ब्लकर, लिबेरो, सेटर, स्पाइकर र प्रशिक्षकहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश लगायतका प्रमुख टिमहरूको सहभागिता रहनेछ । महिला तर्फ पनि एपिएफ, आर्मी, पुलिस र विभिन्न प्रदेशका टिमहरू प्रतिस्पर्धामा उत्रनेछन् । प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडीहरूको दुर्घटना बीमा गरिएको छ भने आवास, स्वास्थ्य, यातायात तथा अन्य व्यवस्थापनको पूर्ण तयारी गरिएको संघले जानकारी दिएको छ ।

नेपालमै पहिलोपटक संघस्तरबाट आयोजना गरिन लागेको यो ठूलो लिग पोखरामा आयोजना गर्न पाउनु निकै ठूलो अवसर भएको संघका महासचिव रोशन श्रेष्ठले बताए । उनले पोखराका विभिन्न सरोकारवाला निकायहरूले देखाएको सकारात्मकता र सहयोगप्रति आभार व्यक्त गरे ।

यस प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, क्याली नेपाल, नागरिक विकास बैंक, टोम्स फार्मास्युटिकल्स प्रा.लि. लगायतका संघसंस्था र व्यवसायिक साझेदारहरूले आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेका छन् । त्यस्तै मिडिया पार्टनरको रूपमा खेलकुद डट कम, मेडिकल पार्टनरमा चरक मेमोरियल अस्पताल, र इन्टरनेट पार्टनरका रूपमा वर्ड लिंकको साथ रहनेछ ।

स्थानियस्तरमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, टाइगर ग्रुप अफ पोखरा, पोखरा भलिवल संघ र कास्की जिल्ला भलिवल संघको विशेष सहकार्य रहनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष याम बहादुर गुरुङ, पूर्व सचिव डिबी नेपाली लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस