
पोखरा
जनता सङ्ग माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत यही जेठ १० गते पोखराको चिप्लेढुंगामा विशाल जनसभा आयोजना हुने भएको छ। उक्त सभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन आइतबार अपरान्ह काठमाडौँबाट थवाङ जाँदै गर्दा पोखरामा केहीबेर रोकिएर पत्रकारसँग भेटघाट गरे।
भेटघाटमा पुनले अहिलेको सरकारलाई बिचौलियाहरूले बनाइदिएको बताउँदै उनीहरूकै हितमा काम गरिरहेको आरोप लगाए। “हामीले त्यतिबेलै भनेका थियौँ, अहिले प्रमाणित भइसकेको छ,” उनले भने।
पुनले सुशासन कमजोर बनाउन र भ्रष्टाचार संस्थागत गर्न वर्तमान संयुक्त सरकार लागिपरेको आरोप पनि लगाए।
हाल माओवादी सरकारमा जाने चर्चा बजारमा चले पनि पुनले तत्काल सरकारमा जानु पार्टीको योजना नभएको प्रस्ट पारे। “हामी ०८४ मा एकल सरकार बनाउने गृहकार्य गरिरहेका छौँ,” भन्दै उनले अहिलेको सरकार ढाल्ने योजना नभएको स्पष्ट पारे।
“यो सरकार यही ढाँचामा जाओस् भन्ने पनि होइन, तर अहिले सरकारमा जानु हाम्रो प्राथमिकता होइन,” उनले थपे।
कार्यक्रममा माओवादी गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले माओवादीले सुरु गरेको मध्यपहाडी जनसंवाद अभियान सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूको साझा अभियान भएको बताए।
“हामीले रगत र पसिना बगाएर ल्याएको संविधानको रक्षा गर्नु माओवादीको दायित्व हो,” शर्माले भने, “नेतृत्व कहीँ-कहीँ कमजोर देखिएको हुनसक्छ, तर व्यवस्था र संविधान राम्रो छ।”
गण्डकी प्रदेश समितिको आयोजनामा हुने जनसभामा पोखराको समाजिकुक मैदानबाट र्याली सुरु भई चिप्लेढुंगामा सभामा परिणत हुने जनाइएको छ। जनसभा बिहान ११:३० बजे सुरु हुनेछ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर कास्कीको संयोजनमा सम्पन्न भएको थियो।
