Tuesday, January 20News That Matters

टाइगर कपमा २१ लाख नाफा, अब छैठौं संस्करणको तयारी

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा, १४ जेठ – टाइगर ग्रुप अफ पोखराको आयोजनामा सम्पन्न एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिता सम्पन्न हिसाव सार्बजनिक गरेको छ। प्रतियोगितामा खर्च भएको सम्पूर्ण रकम पारदर्शी रूपमा सार्वजनिक गर्दै आयोजकले पत्रकार सम्मेलनमार्फत विस्तृत आर्थिक विवरण समेत प्रस्तुत गरेका छन्।

भद्रगोल ढंगले आयोजना हुने आरोप लाग्ने गरेका धेरैजसो प्रतियोगिताको तुलनामा टाइगर कपले सबै विवरण सार्वजनिक गर्नुले उदाहरणीय अभ्यास गरेको छ।

कुल आम्दानी एक करोड ७१ लाख ८९ हजार ५७१ रुपैयाँ रहेकोमा कुल खर्च एक करोड ५० लाख ८८ हजार ५६५ रुपैयाँ भएको र बचत २१ लाख १ हजार ६ रुपैयाँ रहेको आयोजकको प्रतिवेदनमा उल्लेख छ। मुख्य प्रायोजक एनसेल, सहप्रायोजक सुश्री मिडिया, साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगिताबाट बचत भएको रकम सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा खेलकुद अभियानमा समर्पित गरिने प्रतिबद्धता अनुरूप उपयोग गरिँदै आएको छ। यसै सन्दर्भमा यस वर्षदेखि प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी अक्षयकोषका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको जानकारी शर्माले दिएका छन्।

गत माघ १२ देखि २० गतेसम्म भएको प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा १/१ विदेशी टोलीसहित ६/६ टिमको प्रतिस्पर्धा रहेको थियो।

अब टाइगर ग्रुपले छैठौं संस्करणको तयारी थालिसकेको छ। आगामी माघ ९ देखि १७ गतेसम्म आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण खुला क्लब च्याम्पियनसिपका लागि नेपाल भलिबल संघसँग स्वीकृति माग गरिएको छ। यसै क्रममा आज टाइगर ग्रुपका अध्यक्ष शर्माले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई स्वीकृति पत्र हस्तान्तरण गरेका छन्।

स्वीकृति ग्रहण गर्दै संघका अध्यक्ष चन्दले पोखरामा आयोजना हुने छैठौं संस्करणका लागि विदेशी टोली समन्वयका जिम्मा आफूहरूले लिने प्रतिबद्धता जनाएका छन्।

सोही अवसरमा ‘पोखरा स्पोर्ट्स अवार्ड’ मा उत्कृष्ट ठहरिएका भलिबल खेलाडी अरुणा शाही र विश्वास अधिकारीलाई विशेष सम्मान प्रदान गरियो। त्यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सक्रिय फोटो पत्रकार बसन्त शेर्पा , विजय नेपाली लगायतका टोलीलाई पनि आयोजक संस्थाले खादा अर्पण गर्दै शुभकामना व्यक्त गरेको थियो।

प्रतिकृया दिनुहोस