Tuesday, February 10News That Matters

पृथ्वी बस व्यवसायी कम्पनी प्रालिद्वारा फास्ट चार्जिङ मेसिन सञ्चालन

यो समाचार शेयर गर्नुहोस्


पोखरा, १२ सोमबार – पोखराको जिरो किमी फिर्के नजिकै रहेको यातायात व्यवसायीहरूको सबैभन्दा पुरानो संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले आफ्नै कार्यालय परिसरमा फास्ट चार्जिङ स्टेसनको शुभारम्भ गरेको छ।

कम्पनीद्वारा आफ्नै कार्यालयमा जडान गरिएको फास्ट चार्जिङ मेसिनको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सोमबार शुभारम्भ गर्नु भयो।

चार्जिङ मेसिनको उद्घाटनपछि संरक्षक अधिकारीले विगतमा कम्पनीले पेट्रोल पम्प सञ्चालन गर्दै आएको भए पनि आजको प्रविधियुक्त युगमा विद्युतीय सवारी साधन भित्रिएसँगै समयानुकूल सुविधा उपलब्ध गराउनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो।

उहाँले सो चार्जिङ मेसिन कम्पनीको पहिलो प्रयास भएको उल्लेख गर्दै, भविष्यमा आम व्यवसायीलाई अझ सहज हुने गरी चार्जिङ स्टेसनको सेवा विस्तार गर्न कम्पनी सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रममा कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले सो फास्ट चार्जिङ मेसिन केवाईसी चौधरी ग्रुप (सिजी कम्पनी) बाट चार महिनाअघि प्राप्त भए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण अब मात्र जडान गर्न सकिएको जानकारी दिनुभयो।

अध्यक्ष केसीका अनुसार अहिले जडान गरिएको मेसिन परीक्षणको रूपमा लिइएको हो। आगामी दिनमा थप अध्ययन गर्दै सुविधासम्पन्न चार्जिङ स्थान व्यवस्थापन गरी दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने योजना रहेको पनि उहाँले बताउनुभयो।

इभी (EV) गाडी पर्यटन प्रवर्द्धनका लागि उपयुक्त भएको उल्लेख गर्दै, बदलिँदो समयसँगै कम्पनीले पनि इन्धन गाडीलाई विस्थापित गर्दै विद्युतीय गाडी सञ्चालनतर्फ ध्यान दिएको जानकारी गराइयो।

नेपाल विद्युत प्राधिकरणले तोकेको दरअनुसार नै चार्जिङ शुल्क लिइने जानकारी दिँदै अध्यक्ष केसीले समग्रमा देशभरका यातायात व्यवसायी व्यवसाय र सेवाग्राहीप्रति जिम्मेवार रहेको धारणा राख्नुभयो।

त्यसै अध्यक्ष केसिले यातायात व्यवसायीले समयअनुसार सोच परिवर्तन गर्दै नियम पालना गरिरहेको अवस्थामा, सरकारले व्यवसायीमाथि जवरजस्ती कानुन थोपार्दै सिङ्गो यातायात क्षेत्र अस्तव्यस्त बनाइरहेकोमा दुख व्यक्त गर्दै रोष प्रकट गर्नुभयो।

प्रतिकृया दिनुहोस