
पोखरा
पोखरा महानगरपालिका–८ स्थित सृजनाचोक र सभागृह चोकको बीच सडक खण्डमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका मादी गाउँपालिका–५ सिक्लेसका ईच्छा क्षेत्री (विष्णुबहादुर बुढाथोकी) को उपचारको क्रममा मृत्यु भएको छ।

घटना जेठ १२ गते राति करिब १०:५० बजे भएको हो। सडक पार गर्दै गरेका बुढाथोकीलाई तत्काल नम्बर नखुलेको स्कुटरले ठक्कर दिएर चालक फरार भएको थियो। सूचना प्राप्तलगत्तै प्रहरी चौकी बैदामबाट खटिएको टोलीले गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याए पनि जेठ १४ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेको स्कुटर चालकको खोजीका क्रममा कास्की प्रहरीले जेठ १४ गते नै पोखरा–११ फूलवारी चोकबाट काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई स्कुटरसहित पक्राउ गरेको हो। पक्राउ परेका महर्जनसँगै प्र. ३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ।

महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशअनुसार अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक ईच्छा क्षेत्री लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
