Wednesday, March 11News That Matters

पोखरामा चोरी तथा डाँका प्रकरणमा दुई जना पक्राउ, लाखौंको गरगहना बरामद

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखराको माटेपानीमा भएको चोरी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। कास्की प्रहरीले रातको समयमा भएको उक्त चोरी घटनापछि अनुसन्धान गर्दै जाँदा दुई जनालाई चोरीका सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा जिल्ला नवलपरासी कावासोती नगरपालिका–११ स्थायी घर भई हाल कञ्चनपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय तेजेन्द्र खड्का र जिल्ला पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएका ३२ वर्षीय टिकराम विक रहेका छन्।

प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले उनीहरूलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अन्य स्थानहरूमा पनि चोरी गरेको स्वीकारेका छन्। हालसम्म उनीहरूको साथबाट करिब तीन लाख ४४ हजार रुपैयाँ बराबरका गरगहना र अन्य सामान बरामद गरिएको छ।

बरामद गरिएका सामग्रीमा सुनजस्तो देखिने पहेँलो धातुको ५ तोला ४ लाल बराबरको डल्ला, चाँदीजस्तो देखिने गरगहना ७ तोला ६४ लाल, चाँदीका सिक्का (६ थान) २१ तोला ३० लाल, अन्य विभिन्न प्रकारका ब्रासलेट, सिङ्गी, लकेटलगायतका गरगहना बनाउने तयारी अवस्थाको कच्चा पदार्थ गरी जम्मा ७४ तोला ७६ लाल बराबरका वस्तुहरू छन्।

यसैगरी चोरीमा प्रयोग गरिएको ग २० प ३४६३ नम्बरको स्कुटर, त्यसको चाबी, दस्तावेज तथा चाँदी र सुनका गरगहना गाल्ने तथा बनाउने औजारहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस