प्रकाश अधिकारी,पोखरा

पोखरा,
नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी तथा जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहनेछ। प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब गरी छ वटा शीर्ष महिला टिमहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ।

राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ ला ख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।

नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले प्रतियोगितामार्फत महिला भलिबलको स्तरीय विकास र नयाँ प्रतिभा पहिचान गर्ने लक्ष्य रहेको बताए। उनले भने, “भविष्यमा यो प्रतियोगितालाई अझ भव्य, व्यवस्थित र नियमित बनाउँदै लैजाने हाम्रो योजना छ।”

खेलकुद र राजनीतिबीचको सम्बन्धबारे अध्यक्ष कोइरालाले विचार राख्दै भने, “खेलकुदमा राजनीति नभएर नै बिग्रिएको हो। राजनीतिकरण पो गर्नु भएन, किनभने मेडल र पुरस्कारमा राजनीति गर्नु हुँदैन। तर, राजनीतिलाई खेलकुदको मुलधारमा ल्याउनु भयो भने बजेट दिने त राजनीतिक नेतृत्वले नै हो। मन्त्री हुने, प्रधानमन्त्री हुने त राजनीतिज्ञ नै हुन्, उनीहरूले नै बजेट दिने हुन्। त्यसैले हामीले राजनीतिज्ञहरूलाई खेलकुदमा इन्भल्भ गरायौँ भने मात्रै खेल क्षेत्र समृद्ध हुन्छ।

हामीले खेलकुदलाई राजनीतिको मूलधारमा लैजानुपर्छ भन्ने लागिरहेको छ। त्यो पनि उपाय हुन सक्छ , त्यसकारण हामीले यसलाई सकारात्मक रूपमा सोचेर प्रचण्ड कपको आयोजना गरेका हौं।” उनका अनुसार प्रतियोगिता नेपाल भलिबल संघ तथा एभिएभीबीको नियमअनुसार सम्पन्न गरिनेछ। सहभागी टिमहरूको यातायात, बसोबास, खानपिन लगायत सबै व्यवस्थापन आयोजकले गर्नेछ। साथै, प्रत्येक टिममा विदेशी खेलाडी तीन जना सम्म खेलाउन पाइने व्यवस्था गरिएको छ।

वि.सं. २०७५ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो। सोही घोषणालाई स्मरण गर्दै अध्यक्ष कोइरालाले भने, “भलिबल नेपालको लोकप्रिय र गतिशील खेल बनेको छ। यस प्रतियोगितामार्फत हामी त्यसमा एउटा इँटा थप्दैछौं।”
अध्यक्ष कोइरालाले सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई प्रतियोगिताको प्रचारप्रसारमा साथ र सहयोग गर्न आग्रह गर्दै भने, “हामी तपाईंहरूको सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेका छौं।”
भिडियो रिपोर्ट :-
