
पोखरा
“२०५५ सालतिरको कुरा हो,” लामो स्वास तान्दै सम्झिन्छन् शिव शर्मा, “त्यो बेलासम्म लेख्ने लत त गहिरिसकेको थियो, तर नवपरिवेश नामको हवाई पत्रिका सम्पादन गरेर आफ्नै छविको खोजी थालेको थिएँ।” त्यो समय न एफएम थिए, न निजी टेलिभिजन। रेडियो नेपाल नै सञ्चारको मुख्य माध्यम थियो। उनी आफ्ना कविता र रचनाहरू त्यहीँ पठाउँथे। रेडियो नेपालको केन्द्र क्षेत्रीय प्रसारण पोखराबाट उनका रचना प्रसारित हुन थाले। सरोज गोपाल बज्राचार्यले सञ्चालन गर्ने ‘आहा! संगीत संसार’ कार्यक्रममा उनका कविता तीनपटक पुरस्कृत पनि भए। त्यसैगरी पूर्णचन्द्र घिमिरेको तीन चरण कार्यक्रममा शिवले लेखेका कथा वाचन हुन्थे। यिनै अनुभवहरूले उनलाई पत्रकारितातर्फ मोड्न थाल्यो।
“पत्रिकामा समाचार लेख्न थालेँ, सुरुमा त कसैले पत्तो नै पाएन,” उनी हाँस्दै भन्छन्। यही ‘नपत्ताई लेख्ने’ बाटो हुँदै उनले चेतनापत्र राष्ट्रिय दैनिकबाट मुख्यधारको पत्रकारिता सुरु गरे, लगभग २२ वर्षअघि। “माधव वियोगी सरले मलाई पहिलो अवसर दिनुभयो। उहाँ नभएको भए सायदै म यो दुनियाँमा टिक्न सक्थेँ,” उनी भावुक हुँदै भन्छन्।
पोखरामै रहेर चेतनापत्र, सन्ध्याकालिन, गगन, हटलाइन, सञ्चारदर्पण, समाधान जस्ता पत्र–पत्रिकामा उनले काम गरे। कहिले फ्रीलान्स, कहिले जागिरे पत्रकार। “फिल्ड रिपोर्टिङ गरेर फर्केपछि प्रुफ हेर्ने, अनि ट्रेसिङ पेपर बोकेर साइकलमा छापाखानासम्म पुग्ने,” उनी ती दिन सम्झन्छन्। त्यो समय माओवादी द्वन्द्व चरममा थियो। एक रात १:३० बजे उनी चेतनापत्रको काम सकेर फर्किँदै गर्दा सिर्जनाचोकमा नेपाली सेनाले हतियार तानेर रोक्यो। “ओइ, कसको पत्रकार होस्—हाम्रो कि माओवादीको?” भन्ने प्रश्नसँगै बन्दुकको नाल निधारमा थियो। “मैले भनेँ, म जनताको पत्रकार हुँ। त्यसपछि बल्ल छोडे।”
त्यति बेला प्रविधिको सहजता थिएन। “समाचार हातैले लेखेर कुरियरमार्फत राजधानी पठाउँथ्यौं। फोटो स्टुडियोमा खिचाएर रील धुलाइ गरेर मात्र पठाइन्थ्यो,” उनी सम्झिन्छन्। राजधानी दैनिकमा उनका फिचरहरू प्रकाशित हुन थाले। समाधान दैनिकमा काम गर्दै गर्दा उनले कम्प्युटर टाइपिङ पनि सिके। “रातभर टाइप गरेर भोलिपल्ट छापिएको पत्रिका हेर्नुजत्तिको सन्तोष केही हुन्न,” उनी भन्छन्।
कान्तिपुर साप्ताहिकमा पोखराबाट रिपोर्टर मागिएपछि पत्रकार कुलचन्द्र न्यौपानेको सिफारिसमा आवेदन दिए। उनी छनोट भए। “पहिलो हप्ता नै ‘लाहुरे बन्ने रहर’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापियो। अग्रज फोटो पत्रकार सुरदर्शन रञ्जितले फोटो खिचिदिनुभयो,” उनी सम्झन्छन्। त्यसपछि उनले मोफसलबाट राष्ट्रिय पत्रिकामा आफूलाई स्थापित गरे। “त्यो बेला शुक्रबारको साप्ताहिक नपढ्ने सायदै कोही थिए,” उनी मुस्काउँदै भन्छन्।
साप्ताहिकको फेसन, फिल्म र मोडलिङ रिपोर्टिङले उनीभित्रको कलाप्रेमी पनि जाग्यो। साथीहरूको लहैलहैमा मोडलिङ गरे, गीतमा अभिनय गरे, ‘मार्केट’ फिल्ममा समेत देखा परे। त्यसबेला कान्तिपुर दैनिकमा पनि लेख्न थाले।
उनको पत्रकारिता निष्पक्ष रह्यो। “न पार्टीको झण्डा बोकेँ, न चाकडी गरेँ,” उनी गर्वका साथ भन्छन्। “पुरस्कार दिन्छु भनेर संगठनको सदस्यता लिन भनियो, तर म नमानेँ।” पत्रकारिताको क्रममा उनले ‘संरक्षण पुरस्कार–२०१५’, नेपाल वातावरण पत्रकार समूहको राष्ट्रिय पुरस्कार, एसीएपी र प्रकृति संरक्षण संस्थाबाट सम्मान पाए। अमेरिकामा आएपछि पनि नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित भए।
“पत्रकारिताका लागि एउटा एमए को परीक्षा छुट्यो,” उनी मुस्काउँदै भन्छन्, “तर त्यो छुटेको परीक्षा साटेर मैले कोसेलीको कभर स्टोरी बनाएँ।” हवाई पत्रिकाबाट सुरु भएको यात्रा आज अमेरिकासम्म आइपुगेको छ। अहिले उनी युएसनेपाल पोस्ट अनलाइन न्युज पोर्टलका सम्पादक छन्।
“पत्रकारिताले नाम दियो, धन होइन, तर सन्तोष पक्कै छ—समाजका लागि केही दिन सकेँ,” उनी भन्छन्, “त्यसपछि म कहिल्यै पछाडि फर्किनुपरेन। कलम र कागज नै मेरो बाटो बन्यो।”
लामो समयसम्म पत्रकारिता गरेर अमेरिका पुगेका शिव शर्मा चञ्चल यस्ता पत्रकार हुन्, जसलाई आज पनि नेपाली समाजले सम्झिरहन्छ। कलमसँगै बाँचेको उनको जीवन, संघर्ष र सफलता हामीले नजिकबाट बुझ्ने प्रयास गर्यौं। डिजिटलको युगसँगै शिव अमेरिका पुगेर डिजिटल पत्रकारितामा क्रियाशील छन्। छोटा रील र भिडियोहरू उनका अमेरिका देखि नेपालसहित विदेशमा रहेका नेपालीहरूले मन पराउँछन्। लेख्ने कलामा पोख्त चञ्चल बोल्ने कलामा अझ अभ्यासरत छन्। “बस लेखेर पत्रकारिता सिकेको म अहिले बोल्न सिकिरहेछु,” शिवले मुस्काउँदै बताए।”
‘हामीले खोजेका चञ्चलजस्ता स्वतन्त्र पत्रकारहरूलाई फेरि पाठकसँग जोड्ने यो प्रयास हो। अर्को अङ्कमा पनि यस्तै प्रेरणादायी व्यक्तित्वहरूलाई स्थान दिँदै जानेछौं।’
– प्रकाश अधिकारी
(लेखक पोखरामा सक्रिय पत्रकार एवं डाडाघरेखबरडटकमका रिपोर्टर हुन्।)
