
पोखरा
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म झन्डै ६ करोड रुपैयाँ बराबरको भेटी सङ्कलन भएको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजका अनुसार हालसम्म नगद, क्युआर, चेक, चरु, जिन्सी र दान पेटिकाबाट गरी कुल ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ बराबरको भेटी प्राप्त भइसकेको छ।
कोटिहोमका ११ हजार कलशमध्ये हालसम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेका छन्। महाराजले महायज्ञपछि पत्रकार सम्मेलनमार्फत सम्पूर्ण आय-व्यय सार्वजनिक गर्ने घोषणा गरेका छन्।
साथै, देशका सातै प्रदेशमा कोटिहोम सञ्चालन गरिने जानकारी दिँदै उनले २०८२ मङ्सिरमा कोसी, २०८३ वैशाखमा लुम्बिनी, २०८४ वैशाखमा पुनः पोखरामा विराट ज्ञान महायज्ञ गरिने जानकारी दिए।
मानव सेवा फाउन्डेसनका आजीवन सदस्य बन्ने, शिलालेखमा नाम लेखाउने र अनाथ बालबालिकाको अभिभावक बन्ने कार्यक्रमप्रति भक्तजनको आकर्षण बढेको छ। आज गायक खुमन अधिकारीको भजन, सरसफाइ अभियान र चित्रकला कार्यक्रमसमेत सम्पन्न भएको छ।
कोटिहोम पोखरा सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जेठ ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
