
पोखरा–१७ मा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका चित्रकार र कविको सहभागिता रहेको छ। उनीहरूले कोटिहोमका दृश्य, धार्मिक सम्पदा र भावनालाई चित्र र कविता मार्फत प्रस्तुत गरे। चित्रकलाले भक्तजनको ध्यान खिच्यो भने कविताले सनातन धर्मको सन्देश फैलायो।

चित्रकार श्याम फूयालका अनुसार कोटिहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ। कविहरूले सांस्कृतिक चेतना झल्काउने कविता वाचन गरे।

महायज्ञमा नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेय, विभिन्न जिल्लाका जनप्रतिनिधि, तथा हजारौँ भक्तजन सहभागी छन्। लोकगायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजनमा श्रद्धालुहरू नाचे।
कोटिहोममा तुलादान, ग्रहशान्ति, व्रत, पुराण पाठ, दीप प्रज्वलन लगायतका धार्मिक अनुष्ठान भइरहेको छ। विभिन्न संघसंस्था र व्यक्तिबाट लाखौँ रकम सहयोग संकलन भइसकेको छ।
सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले महायज्ञ जेठ ३१ सम्म चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि कोटिहोम विस्तार गरिने घोषणा गरेका छन्।
