
पोखरा
हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनेमिक एकेडेमिकले आयोजना गर्न लागेको ‘हिमाल फुड फेष्ट–२०८२’ को सुरुवात मैत्रीपूर्ण फुटसल खेलमार्फत गरिएको छ। फेष्टको पूर्वसन्ध्यामा आयोजित उक्त खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र कलेजका शिक्षकबीच प्रतिस्पर्धा भएको थियो।
पोखरास्थित स्पोर्ट्स क्यासलमा सम्पन्न खेलमा खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले विजयी हात पारेको छ। मैत्रीपूर्ण भए पनि खेल निकै प्रतिस्पर्धात्मक र रमाइलो बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा एकेडेमिकका अध्यक्ष चेतनाथ भण्डारीले यस्तो खेलले पत्रकार र शिक्षकबीचको सम्बन्ध अझै बलियो बनाउने विश्वास व्यक्त गरे। उनले भने, “खेलकुदले स्वास्थ्य र अनुशासन दुबैलाई सँगसँगै डोर्याउँछ, र यस्तो आयोजना हामी सबैलाई नजिक ल्याउने सेतु बनेको छ।”

त्यसैगरी, पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमाल कलेजप्रति आभार प्रकट गर्दै फुड फेष्ट–२०८२ लगायत आगामी कार्यक्रमहरूमा संस्था सधैँ सहकार्यका लागि तयार रहेको बताए। “हामी निरन्तर साथ र सहयोगका लागि प्रतिबद्ध छौं,” उनले भने।
फुड फेष्ट–२०८२ असारको पहिलो साताभित्र आयोजना गर्ने तयारी छ। आजको मैत्रीपूर्ण खेल कार्यक्रमको संयोजक शिशिर ज्ञवालीले गरेका थिए।
