
पोखरा
कास्कीको पोखरामा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएपछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८२ जेठ २६ गते बिहान करिब ५:२३ बजे पोखरा महानगरपालिका–१५, आदर्श टोलस्थित अमिनतारा जाने भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए।
सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले घटनास्थलको अवलोकन गर्दा मृतकको शरीरमा विभिन्न भागमा चोटपटक देखिएको र नजिकै हेम्बर पनि भेटिएको थियो।
घटनाबारे गम्भीर अनुसन्धान सुरु गर्दै जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले ट्याक्टरसहित चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४, छिनेडाँडामा बसोबास गर्दै आएका २० वर्षीय पवन राना रहेका छन्। उनी ग १ त ३३२० नम्बरको ट्याक्टरका चालक हुन्।

प्रहरीका अनुसार मृतक तनहुँ शुक्लागण्डकी नगरपालिका–१२, लिलाचोकका २० वर्षीय मनोज भुजेल हुन्, जो हाल पोखरा–१४, छिनेडाँडास्थित सगरमाथा टोलमा जग्गा प्लटिङ्मा ज्यामी काम गर्दै आएका थिए।
दुर्घटनाको दिन पवन राना र मनोज भुजेलले सँगै जन्मदिनको पार्टी मनाएर फर्किँदै गरेका थिए। पवनले चलाएको ट्याक्टरमा ड्राइभर सिटमै मनोज पनि बसेका थिए। उनले आफैं प्रयोग गर्ने हेम्बर समेत साथमा राखेका थिए।
घर फर्किने क्रममा तीव्र गतिमा रहेको ट्याक्टरबाट खस्दा ट्याक्टरको ठूलो पांग्राले कुल्चिँदा मनोजको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पवन रानालाई सवारी ज्यान सम्बन्धी मुद्दामा पक्राउ गरी कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
