
पोखरा
पोखराको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। अमेरिकाबाट आएका धर्मगुरु कालिदास वावा (काली बाबा) ले पूर्णाहुति गरेका हुन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले लामो यात्रापछि पूर्णाहुति गर्न आएकोमा काली बाबाप्रति आभार व्यक्त गरे। काली बाबाले बालयोगेश्वरलाई यज्ञ सम्राटको उपमा दिँदै भने, “यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ, त्यो हिम्मत साथ बालयोगेश्वरले गर्नुभयो। यज्ञ सम्राट, यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु।”

पूर्णाहुति पश्चात हवन, पाठ परायण, व्रतबन्ध, चौरासी पूजा लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन्। चार सयभन्दा बढी ब्राम्हणलाई सम्मानपूर्वक बिदाइ गरिएको छ।
वैशाख १९ गते विधिवत् सुरु भएको कोटिहोममा १०८ भागवत महापुराण, ४ वेद पाठ, सप्त चण्डी, अति रुद्री लगायतका मन्त्रजप गरिएको थियो। पूर्णाहुति पश्चात अभिषेक र महाप्रसाद ग्रहण गरिएको संयोजक लेखराज ढकालले जानकारी दिए ।

यज्ञपछि भोलिदेखि तिलक र भस्म वितरण गरिने तथा कलश बुकिङ गरेकाहरूले घर लैजान पाउने कार्यक्रम छ।
यसैबीच, पोखरा–५ प्रस्याड् निवासी गंगा केसीको परिवारले मानव सेवा फाउन्डेसनलाई आश्रम निर्माणका लागि २ रोपनी जग्गा दान गरेका छन्।

हालसम्म करिब ३० लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन्। यज्ञमा नेपाल वैदिक महर्षि फाउन्डेसनका अध्यक्ष दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका डा. मिलन कुमार थापा, मोटिभेटर विश्वराज गौतमलगायतको उपस्थिति रहेको संयोजक लेखराज ढकालले बताए ।
श्रीमद्भागवत कथा वाचन भने जेठ १७ देखि ३१ गतेसम्म चल्ने संयोजक लेखराज ढकालले जानकारी दिए। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको परिसरमा कोटिहोम सञ्चालन भइरहेको संयोजक लेखराज ढकालले जानकारी दिएका छन ।
