

पोखरा
कास्की प्रहरीले लागुऔषध ट्यापेन्टाडोल १०० एमजीका १,०५० ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा, पोखराबाट खटिएको प्रहरी टोलीले असार ३ गते साँझ करिब ६ बजे पोखरा महानगरपालिका–८, सिमलचौरस्थित प्रतिभा मार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई समातेको हो।
पक्राउ पर्नेहरूमा स्याङ्जा, पुतलीबजार नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–७ रत्नचोकमा बस्दै आएका २८ वर्षीय मनोज रेज्मी, पोखरा–१७ घरिपाटन निवासी २८ वर्षीय राजबहादुर पौडेल, २८ वर्षीय राजेश बहादुर पौडेल र रत्नचोककी एक महिला छन्।
उनीहरू सवार ग १७ प ७२३४ र ग १४ प ३३५९ नम्बरका मोटरसाइकलमा चेकजाँच गर्दा ट्यापेन्टाडोल ट्याब्लेटसहित दुई थान मोबाइल फोन पनि बरामद भएको छ । चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। कास्की जिल्ला अदालतबाट उनीहरूलाई ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

