
पोखरा
पोखरामा अवैध सुनका गरगहना बिक्री गर्न खोजेका दुई जना भारत र नेपालका नागरिक पोखराबाट बुटवल फर्किंदै गर्दा पुम्दिभुम्दिमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरू भारत, पञ्जाब अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६, पूर्वबहिया निवासी ४७ वर्षीय रामबहादुर बिक रहेका छन्। उनीहरूले झण्डै १ करोड ३० लाख रुपैयाँ बराबरको गरगहना साथमा राखेका थिए।

प्रहरीका अनुसार दुवै जनाले पोखराका सुन पसलहरूमा बिना बिलका सुनका गहना बिक्री गर्न खोजेका थिए। तर पसलेहरूले बिल र कागजात नभएको भन्दै गहना नकिनेपछि, उनीहरू माइक्रोबस चढेर बुटवल फर्किंदै थिए। यही क्रममा पुम्दिभुम्दिमा चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बरामद गरगहनामा सुनका ढिक्का , सिक्री, दानावाला माला, झुम्का, पत्थर जडित र हिरा जडित औंठी, कानको जुली , मंगलसूत्र, लकेट, कालो रातो माला पोते झुम्का लगायतका गरगहना तथा पत्थर जडित जम्मा ८२ तोला १६ लाल गहना २२,२४ ,१८ क्यारेटका सुन हरु रहेको र ९५८.९८ ग्राम पत्थर रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार कुलदीप सिंह र रामबहादुर बिक तीन वर्षअघिदेखि फेसबुकमार्फत चिनजान भएका थिए। राम बहादुर भने सुन बिक्रिभए केहि पैसा पाउने लोभमा पोखरा आएको खुलेको छ । भारतका गोरखपुर, दिल्ली, बिहार, उडिसा, हरियाणाजस्ता सहरहरूमा सुनका गहना बेच्दै आएको कुलदिपले नेपालमा पनि त्यही योजना अनुसार काम गर्न खोजेको देखिएको छ। कुलदिपले उक्त गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरु दुवै जना सुनकै गरगहना सम्बन्धी काम गर्ने रहेको प्रहरीले वताएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ ।
प्रहरीको भनाई ( भिडियो )
