Saturday, November 8News That Matters

दुर्घटना न्यूनीकरणका लागि विद्युतीय सवारी चालकलाई प्रशिक्षणका लागि ध्यानाकर्षण पत्र

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

सरकारले वातावरण प्रदूषणबाट मानवीय स्वास्थ्यमा असर परेको भन्दै नागरिक स्वास्थ्य सुरक्षाका लागि इन्धन सवारी विस्थापित गर्दै विद्युतीय सवारी भित्र्याएसँगै नेपालका सडकमा विद्युतीय सवारी गुड्न थालेका छन्।
यसरी विद्युतीय सवारी गुड्न थालेपछि पछिल्लो समय इन्धन सवारीको अनुपातमा विद्युतीय सवारी दुर्घटना भएर जनधनको क्षति हुन पुगेको सवारी दुर्घटना तथ्यांकले देखाएको छ।

चिल्ला सडकमा नयाँ विद्युतीय सवारी गुड्न थालेपछि आम यात्रुले तीव्र गतिमा हाकेकै कारण अनियन्त्रित भई सवारी दुर्घटना भएका गुनासा आउन थालेपछि, विद्युतीय सवारीबाट हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न र जनधनको क्षति हुनबाट जोगाउनका लागि, तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित पोखराका एक सचेत नागरिक शिवराज बस्ताकोटीले विद्युतीय सवारी साधनसँग सम्बन्धित बढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र बुझाए।

ध्यानाकर्षण पत्र बुझाएलगत्तै ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सचेतना तथा विद्युतीय सवारीबारे प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।

ध्यानाकर्षण पत्रमा हाल सडकमा विद्युतीय सवारीसाधनको दुर्घटना बढिरहेको भन्दै विद्युतीय सवारी चालक, सहचालक र व्यवस्थापकलाई लक्षित गर्दै थप ज्ञान र प्रशिक्षणका लागि अनुरोध गरिएको थियो।

ध्यानाकर्षण पत्रलाई गम्भीर रूपमा लिँदै पछिल्लो समयमा भएका दुर्घटनाबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेले सिजी मोटर्सको सहकार्यमा एक विशेष सचेतना तथा प्रशिक्षण कार्यक्रम गर्ने बताएकी छन्।

आयोजित सचेतना तथा प्रशिक्षण कार्यक्रममा जिल्ला स्थित सार्वजनिक यातायात कम्पनी प्रालि अन्तर्गत सञ्चालित विद्युतीय सवारी माइक्रोबस, ट्याक्सी चालक र व्यवस्थापकहरूको समेत सहभागिता रहने प्रनि पाण्डेले बताइन्।
उनले कास्कीस्थित विभिन्न सार्वजनिक यातायात कम्पनीलाई समेत पत्राचार गर्दै आम यातायात व्यवसायी साथै यातायात मजदुरलाई समेत सूचना प्रवाह गरिएको बताइन्।

उक्त आयोजित सचेतना तथा प्रशिक्षण कार्यक्रम २०८२ असार २१ गते शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म न्यूरोडस्थित सिटी स्क्वायर बन्क्वेटमा हुने पत्रमा उल्लेख छ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले कम्पनी प्रशासन प्रमुख ज्ञानेन्द्र बहादुर हस्ताक्षरित एक सूचना प्रकाशित गरी अनिवार्य उपस्थिति नगर्ने सवारीलाई सडकमा चलाउन नदिइने समेत स्पष्ट जानकारी सूचनामार्फत दिएको छ।

यस कार्यक्रमबाट विद्युतीय सवारीसाधनका चालकहरूमा ट्राफिक नियम, सावधानी र सडक सुरक्षाबारे जानकारी र चेतना फैलिनुका साथै आम यात्रुले सुरक्षित यात्रा गर्न पाउने विश्वास गरिएको छ।

पछिल्लो समयमा सवारी दुर्घटनामा वृद्धि भएसँगै अब भने विद्युतीय सवारी सञ्चालन गर्न चाहने व्यवसायीहरूले आधिकारिक कम्पनीसँग विद्युतीय सवारीबारे आधिकारिक रूपमा प्रक्रिया पूरा गरी अनिवार्य प्रशिक्षणमा सहभागी हुनुपर्ने परिस्थिति सिर्जना भएको छ।

यसो त पछिल्लो समय भएका विद्युतीय सवारी दुर्घटना र आम सर्वसाधारण यात्रुको गुनासोबारे यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले पछिल्लो समयमा विद्युतीय सवारी दुर्घटनाबाट जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै आफू गम्भीर भएको बताउँदै यसलाई आम यातायात व्यवसायी, चालक, सहचालकलाई प्रशिक्षण दिनुले दुर्घटना न्यूनीकरण हुने बताए।
उनले नेपाल सरकारले सार्वजनिक विद्युतीय सवारी व्यवस्थित रूपमा सञ्चालन गर्नेगरी सही ढंगले नीति, नियम, कानुन बनाएर कस्ता कस्ता प्रकृतिका सवारी, कस्ता कस्ता सडकमा गुड्न पाउने, कति क्षमताका सवारीले यात्रु बोक्न पाउने, कति क्षमताका सवारी निजी प्रयोग गर्नु पर्ने भन्ने कुनै ऐन, कानुन, नियम नै नबनाई हचुवाका भरमा, निश्चित मापदण्ड नै नतोकिकन सवारी भित्र्याएकोमा दुःख व्यक्त गरे।
यसले विद्युतीय सवारी व्यवस्थित सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएको बताए।

प्रतिकृया दिनुहोस