Friday, April 17News That Matters

महानगर पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न मेयरआचार्य आलोचना र प्रस्नको घेरामा,गरेको कामको मुल्यांकन गर्न आग्रह , बोलेका कुरा पूरा गर्ने प्रतिवद्दता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम पोखरा सभागृहमा भइरहँदा केही वडामा पनि सार्वजनिक सुनुवाइ भइरहेको थियो भने सभागृहमा अपेक्षाकृत उपस्थिति थिएन।

कतिपय वडा अध्यक्ष र सदस्यको उपस्थिति नभएको सार्वजनिक सुनुवाइमा उपस्थित रहेका सर्वसाधारण नगरवासीहरूले भने न्यून उपस्थिति देखिएको र लगभग आधा सभा हल खाली रहेकोमा चिन्ता व्यक्त गर्दै, स्थानीय सरकार जस्तो महानगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो न्यून उपस्थिति हुनुको कारण के हो भन्ने प्रश्न राखेका थिए।

मेयर धनराज आचार्य, जो नेकपा एससँगै तत्कालीन गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा मेयर पदमा निर्वाचित भएका थिए, भने उपमेयरमा काँग्रेसकै उम्मेदवार पराजित भएका थिए।

महानगरका कतिपय पछिल्ला कार्यक्रम र गतिविधिहरू हेर्दा, उनलाई मत दिएका प्रमुख सहयात्री काँग्रेसका जनप्रतिनिधिहरू समेत अब उनीप्रति असन्तुष्ट देखिन्छन्।

पोखरा सभागृहमा मेयरकै अगाडि जनताले वडाध्यक्षले गरेका कामहरूको असफलताका कारण असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिन सुझाएका थिए। नागरिकको आलोचना र प्रश्नहरूको घेरामा रहेका मेयरलाई जनप्रतिनिधिहरूसँगको असहयोगको संकेत सभागृहमा स्पष्ट देखिन्थ्यो।

सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उपमेयरको अनुपस्थिति देखेर कतिपय जनताले मेयर आचार्यसँग उपमेयरले असहयोग गरेको त हो कि भन्ने शङ्का व्यक्त गरेका थिए। यसले गर्दा मेयर आचार्यलाई कार्यक्रममा प्रश्नहरूको भार झेल्न परेको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले मेयर आचार्यमाथि महानगरको कार्यालय भवन निर्माण गर्न नसकेको, पार्किङ मापदण्ड र बसपार्क निर्माणमा चासो नदिएको, सडकका खाल्डाखुल्डी समयमै मर्मत नगरेको आरोप लगाए। तिनीहरूले मेयरलाई चुनौती दिँदै भने, “सडकका खाल्डाखुल्डी मात्र पुरेर देखाउनुस्!” मेयरले गरेका पूर्व घोषणा अनुसार खाल्डाखुल्डी देख्न नपर्ने प्रतिबद्धता जनाएका थिए, तर त्यो पूरा नगरेको प्रति उपस्थिति जनताले व्यङ्ग्यात्मक शैलीमा मेयरलाई प्रश्न गरेका थिए।

नागरिक अभियन्ता र नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले भने, “फेवाताल जलकुम्भी झार र फोहोरको टापुले कुरुप बनाएको छ, महानगर के हेरेर बसेको छ?” भन्ने प्रश्न गरे। उपस्थित नगरवासिले बसपार्क बनाउन ओगटिएको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले ओगटेको भए पनि महानगरले बसपार्क बनाउनेतर्फ ध्यान नदिएको, सार्वजनिक जग्गा संरक्षण गर्न नसकेको प्रति असन्तुष्टि व्यक्त गरेका थिए।

कतिपय नगरवासीले पोखरा बसपार्क निर्माणमा ढिलासुस्ती, फिर्के मापदण्डको कार्यान्वयन र संरक्षण, पोखरा सभागृहको पुनर्निर्माण, फेवातालको सिमांकन, सेती नदीमा गिट्टी बालुवा निकाल्ने टेण्डर लगायतका मुद्दामा असन्तुष्टि जनाएका थिए। वहीँ, नगरवासी शिव प्रसाद गौतमले भने, “बर्षौँदेखि चौपायाको चपेटामा परेको पोखरामा चौपायाका कारण दुर्घटनाबाट जोगिएका नगरवासीले मेयरको चौपाया नियन्त्रण कार्यक्रम स्वागतयोग्य भएको बताएका छन्। उनले पोखराका सडकमा चौपाया मात्र होइन, गौरक्षाको काम पनि गरेको भन्दै सबैले धन्यवाद दिनु पर्ने कुरा राखेका थिए।” त्यस्तैगरी, महानगरका सुगम वडाले बढी बजेट पाएको र दुर्गम वडाले कम बजेट पाएकोमा नगरवासीले चिन्ता व्यक्त गर्दै असमान बजेट वितरणको बारेमा आक्रोश पोखेका थिए।

उपमेयर र कतिपय जनप्रतिनिधिहरूको अनुपस्थिति र नगरवासीको न्यून उपस्थितिका बीच, मेयर आचार्यले पोखरा बनाउन १८ घण्टा काम गरिरहेको उल्लेख गर्दै, कतिपय काम र उपलब्धिहरूको पनि मूल्याङ्कन गर्न अनुरोध गरे। उनले भने, “मेसिन जस्तै काम गरिरहेको छु, रिजल्ट देखिन्छ, समय कुर्नुहोस्, मैले गरेका प्रतिबद्धताहरू पूरा हुनेमा ढुक्क हुनुहोस्।” मेयर आचार्यले पोखराको विकास निर्माणका लागि ३३ अर्बको बजेट भित्र्याइएको र विभिन्न परियोजनाहरू मार्फत काम भइरहेको उल्लेख गर्दै चाँडै यसको परिणाम देखिने आश्वासन दिए। समग्रमा, मेयर आचार्यले जनप्रतिनिधिहरूसँगको असहयोगको बाबजुद, उपस्थित नगरवासीका प्रश्नहरूको जवाफ दिएर मन्थन गर्न र चित्त बुझाउन प्रयास गरेका थिए।

प्रतिकृया दिनुहोस