Wednesday, March 11News That Matters

बक्स पोखराद्वारा आकर्षक पुरस्कार राशीसहितको खुला फुटसल प्रतियोगिता हुँदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा “खेलकुद युवाको शक्ति हो” भन्ने मूल सन्देशका साथ बक्स पोखराको आयोजनामा खुला फुटसल प्रतियोगिता २०८२ असार २७, २८ र २९ गते हुने भएको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवनमा प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

पत्रकार सम्मेलन समारोहका प्रमुख अतिथि खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम.बी  आस्था मगर रहेका थिए । उनले आफ्नो भनाई राख्दै , “फुटबलले नै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। त्यही फुटबलको एउटा अविभाज्य अङ्गको रूपमा रहेको फुटसल आज युवामाझ लोकप्रिय बन्दै गएको छ। यस्तो ठूलो पुरस्कार राशी सहितको खुला प्रतियोगिता आयोजना गर्नु बक्स  पोखराको साहसिक निर्णय हो।”

उनले थपे , “राज्यले फुटसललाई अझै औपचारिक मान्यता नदिएको यथार्थ हो, तर हामी सबै मिलेर यसलाई संस्थागत बनाउने पहल गर्नुपर्छ। यसले विदेश पलायन भइरहेका युवाहरूलाई आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिनेछ।” साथै, उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन होउन् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बक्स पोखराका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रदीप गुरुङ, उपाध्यक्ष चमन गुरुङ, सञ्चालक विवेक गुरुङ तथा खेल संयोजक विकास कुँवरको उपस्थिति थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बक्स पोखराका उपाध्यक्ष चमन गुरुङले पत्रकारहरूलाई प्रतियोगिताको प्रचार–प्रसारमा साथ दिन आग्रह गर्दै आफू त्यसमा पत्रकारहरूले सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो।

खेल संयोजक विकास कुँवरले प्रतियोगिता सबैका लागि खुला रहेको स्पष्ट पार्दै भने, “जुनसुकै तहका खेलाडीहरू यसप्रतियोगितामा सहभागी हुन सक्छन्। राष्ट्रिय स्तरका खेलाडीहरूले पनि आफ्नै टिम बनाएर सहभागी हुन पाउनेछन्। हामीले कसैलाईबन्देज नगरी खुला प्रतिस्पर्धाको वातावरण सिर्जना गरेका छौंजसबाट युवा प्रतिभाहरूले स्वतन्त्र रूपमा आफ्नो क्षमता देखाउनसक्नेछन्।”

उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले १० लाख रुपैयाँ आम्दानी गरेर ३ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिएको छ। ‘बचत भएको रकम क्लबले खेलकुदसम्बन्धी विभिन्न गतिविधिमा खर्च गर्नेछ,’ संयोजक कुँवरले जानकारी दिए।

प्रतियोगिता प्रोफेसनल स्तरमा आयोजना गरिएको हो, जसमा न्यायसंगत निर्णायक टोलीले मूल्यांकन गर्नेछ। सम्पूर्ण खेलहरू गोल नेपाल डटकम मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। यस प्रतियोगिताले प्रतिभावान खेलाडीहरूको पहिचान र सम्मान गर्न सहयोग गर्नेछ भने, स्थानीय तथा राष्ट्रिय खेलाडीहरूबीच नेटवर्किङ र सिकाइको अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ। कार्यक्रमको सञ्चालन गिता रानाले गरेकी थिइन्।

विजेता टिमले नगद रु. १,७०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमले नगद रु. १,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई रु. ७,०००, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उदीयमान खेलाडीलाई रु. ६,००० बराबरको १ महिने सदस्यता, उच्च गोलकर्तालाई रु. ६,००० बराबरको १ महिने सदस्यता, र सर्वोत्कृष्ट गोलरक्षकलाई पनि १ महिने सदस्यता दिइनेछ।

प्रतिकृया दिनुहोस