पोखरा,
बसमा यात्रा गरिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई जना व्यक्तिहरूलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएअनुसार मिति २५ असार २०८२ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थितबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले जनाएअनुसार मिति २९ चैत्र २०८. साँझ करिब १७:१५ बजे अमरसिंहचोकबाट लेखनाथतर्फ गइरहेको यात्रुबाहक बसमा सवार एक महिलाको घाँटीमा लगाइएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका वडा नं. १० शिवचोक नजिकै सोही बसमा सवार दुई व्यक्तिहरूले चोरी तथा लुटपाट गरी फरार भएको सूचना प्राप्त भएपछि अनुसन्धान थालिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी परिचालन गरी अनुसन्धानको क्रममा काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको सहयोगमा उक्त घटना संग संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूमा जिल्ला काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ गोकर्णेश्वर न.पा. ४ बस्ने २८ वर्षीय अञ्जन तामाङ र सोही ठाउँमा बसोबास गर्ने ३२ वर्षीय सुरेश तामाङ रहेका छन्।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका नि. सूचना अधिकारी प्र.नि अभिनाश दीप जीसीले जनाएका छन् ।
